विद्यालय संरक्षणमा बालबालिकाको भूमिका

कृष्णप्रसाद ढुङ्गाना
विद्यालय शब्द ‘विद्या’ र ‘आलय’ मिलेर बनेको हो । जहाँ ‘विद्या’को अर्थ ज्ञान र ‘आलय’को अर्थ ठाउँ वा घर भन्ने हुन्छ । यसरी समग्रमा विद्यालयको अर्थ ज्ञान÷लिने स्थान हो । प्राप्त ज्ञान र सीपलाई व्यहारिक प्रयोग गरी व्यक्तिलाई आदर्श जीवन जीउँन योग्य बनाउने थलो हो । विद्यालयमा रहेका भौतिक संरचनाहरु सुरक्षित र दिगो रुपमा उपयोग हुने अवस्था रहनु नै विद्यालयको संरक्षण हो ।
ज्ञान जीवनसँग सम्बन्धित हुन्छ । ज्ञान आर्जन गरिसकेपछि त्यसले जीवन निर्वाह र दैनिक व्यवहारलाई सकारात्मक प्रभाव पार्न सकेन भने त्यसको कुनै औचित्य छैन । विद्यालय व्यवहारिक सीप आर्जन गर्ने मात्र हैन, त्यसको व्यवहारिक प्रयोग गर्ने स्थलको रुपमा विकास हुन सकेको खण्डमा मात्र हाम्रो सिकाइ औचित्यपूर्ण हुन्छ ।  साथै शिक्षाको उद्देश्य ठीक ढंगले पूरा हुन सक्छ । विद्यालयमा बालबालिकाले सिकेको व्यवहार नै घर परिवार र समाजमा उसले प्रयोग गर्दछ । तसर्थ विद्यालयमा उसले जस्तो अभ्यास गर्दछ, सोही अनुसार समाजमा आफ्नो व्यवहार प्रस्तुत गर्दछ ।
विद्यालयका शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाउन यहाँको भौतिक संरचनाहरु अपरिहार्य छन् । भौतिक वातावरण सहज र व्यवस्थित भएमात्र नियमित सिकाइ क्रियालाप प्रभावकारी हुन्छ । त्यसैले यहाँका भौतिक संरचनाहरु व्यवस्थित र सुरक्षित हुनुपर्दछ । तर प्रश्न आउँछ, यिनको सुरक्षाको जिम्मेवारी कस्को हुने र कसरी गर्ने ? वास्तस्वमा कुनै पनि भौतिक सम्पत्तिको मुख्य संरक्षक त्यसको उपभोक्ता नै हो । विद्यालयमा जे जति भौतिक सम्पत्ति हुन्छ, त्यसको नियमित उपयोग शिक्षक र विद्यार्थीले नै गर्ने हो । शिक्षकको समन्वय र विद्यार्थीको सक्रियताबिना ति सम्पत्तिहरुको संरक्षण र समुचित उपयोग सम्भव छैन । त्यस मध्ये पनि विद्यालयमा शिक्षकको संख्या न्यून हुने र विद्यार्थीको संख्या शिक्षकको तुलनामा अत्यधिक हुन्छ । विद्यार्थी आफैंमा सजग र सचेत हुन नसक्ने हो भने त्यसको सुरक्षाको जिम्मेवारी शिक्षक र समुदायले मात्र सम्भव छैन । कुनै पनि चिज जस्ले धेरै उपयोग गर्छ, त्यसको माया पनि उसैलाई बढी हुनुपर्दछ । अनिमात्र लामो समयसम्म त्यसको संरक्षण गर्न सकिन्छ ।
विद्यार्थी उमेर एउटा अस्थिर सोच भएको उमेर हो । यतिबेला उनीहरुको मष्तिस्कले सही र गलत व्यवहारलाई उचित रुपमा छुट्याएर व्यवहार प्रदर्शन नगर्न पनि सक्छन् । त्यसका लागि शिक्षक तथा अभिभावकले दिने परामर्शलाई विद्यार्थीहरुले सधैं सकारात्मक रुपमा लिनु पर्दछ । विद्यालय संरक्षण सम्बन्धमा सबै विद्यार्थीहरुमा दायित्व बोध गराउन सकेको खण्डमा यसको उचित संरक्षण हुन सक्छ ।
विद्यार्थीमा असल संस्कार र सकारात्मक धारणाको विकास हुन सकेको खण्डमा मात्र उनीहरुको सिकाइ सार्थक हुन्छ । विद्यालयमा संरचनाहरुको उचित संरक्षण र दिगो उपयोग त्यसको प्रतिबिम्बि पनि हो । विद्यालयमा विभिन्न उमेर समूहका विद्यार्थीहरु अध्ययनरत हुन्छन् । सबै उमेरका विद्यार्थीमा एकै प्रकारको व्यवहारिक ज्ञान र सीप हुँदैन । माथिल्लो कक्षाका विद्यार्थीहरुमार्फत साना उमेरका विद्यार्थीहरुले व्यवहारहरु सिक्न सिक्दछन् । त्यसैले माथिल्लो उमेरका विद्यार्थीहरुको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ । विद्यार्थीहरु जति जागरुक र सक्रिय भए विद्यालय संरक्षणको प्रयास उत्ति नै प्रभावकारी हुन्छ । अझ त्यसका लागि विद्यार्थीकै अगुवाइमा हुने प्रयास झनै महत्वपूर्ण हुन्छ ।
बि.सं. २०७२ सालको विनासकारी भुकम्प पछि पुननिर्माण भएका विद्यालयका संरचनाहरु जुन हिसाबले निर्माण भएका छन् । ति पहिलेका तुलनामा  निकै बालमैत्री तथा सुबिधायुक्त छन् । तिनको दिगो संरक्षण अहिलेको मुख्य आवश्यकता हो । विद्यालय संरक्षणमा विद्यार्थीको भूमिकालाई प्रभावकारी बनाउन विद्यालय संरक्षण तथा मर्मतसंभार समितिहरुमा उचित प्रतिनिधित्व एवं मर्मत सम्भार योजना निर्माण र सोको कार्यान्वयनमा बालबालिकाको सक्रिय सहभागिता जरुरी हुन्छ । विद्यालय मा विद्यार्थी सहभागिता वृद्धि गर्नुपर्दछ । अतिरिक्त क्रियाकलापहरुमा भौतिक संरचनाहरुको संरक्षणसँग सम्बन्धित विषयवस्तुमा आधारित भइ क्रियाकलाप गर्ने र सो मार्फत विद्यार्थी सचेतना वृद्धि गर्दै विद्यालयप्रतिको विद्यार्थीमा विद्यालयप्रति अपनत्व सिर्जना हुनुपर्दछ । बाल क्लबलाई पथ प्रदर्शकको रुपमा आफ्नो भूमिका निबार्ह गर्न÷गराउनुका साथै सार्वजनिक सम्पत्ति प्रतिको सकारात्मक धारणाको विकास अनिवार्य हरुन्छ । सार्वजनिक निकाय, संस्था समूह र सम्पत्ति प्रतिको लगातार नकारात्मक टिप्पणीको वातारवणले बालबालिकाहरुमा राज्य र राज्यसम्बद्ध पक्षहरुप्रतिको धारणामा समेत नकारात्मक प्रभाव पर्नाले उनीहरुको विदालय लगायतका सार्वजनिक सम्पत्तिप्रतिको उदासिनता सिर्जना हुन सक्छ ।
स्वच्छ, सुरक्षित र व्यवस्थित भौतिक सम्पन्नताको वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलित रुपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चउर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्दछ । शिक्षक स्टाफको स्वस्थकर बानी व्यहोराले बालबालिकाको बानी व्यहोरामा पनि सकारात्मक प्रभाव पार्दछ । सामाजिक, धार्मिक संस्कार, संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भ्रातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचरसंहिता तथा त्यसको सहजरुपमा परिपालन गर्ने परिपाटी अवलम्बन गर्नुपर्दछ ।
आत्म अनुशासन हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छ । आत्म अनुशासन र आत्म नियन्त्रणप्रति सचेत र सजग हुन सकिएन भने मानिसले आफ्नो बानी व्यवहारलाई आदर्श र अनुशरणयोग्य बनाउन सक्दैन । प्रतिशोधका् भावना विकास हुने वातावरण विद्यालयमा तयार हुनु हुँदैन । शिष्ट, सदाचार, सौहार्द एवं नम्र बानी व्यवहारलाई प्रोत्साहित गर्ने मानवीय वातावरण हुनुपर्दछ । विद्यालयले अख्तियार गरेका नीति र रणनीति कतिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरु खुट्याउन निरन्तर मूल्यांकन गरिनुपर्दछ । यसले अनुशासनमा देखिएका कमी कमजोरी सच्याउने र सच्चिने मौका प्रदान गर्दछ  ।
बालबालिकाको अधिकारसँग कर्तव्य र दायित्वका कुराहरुपनि सँगसँगै आउँदछन् । बालवालिकाको अधिकार संरक्षण गर्ने प्रमुख दायित्व अथवा जिम्मेवारी राज्यको हो । त्यही दायित्व अनुसार नै राज्यले बालबालिकाका लागि शैक्षिक अवसर सिर्जना गरेको हो । उक्त अवसरको उपायोगसँगै अरु बालबालिकाको अधिकारको संरक्षण स्वयं बालबालिकाबाट हुन सकेन भने ति बालबालिका आफ्नो कर्तव्यबाट पन्छिएको जनाउँँछ । यसमा सबै विद्यार्थी सचेत हुन जरुरी छ । त्यसैले बालबालिकाले पनि आफ्नो अधिकारसँगै कर्तव्य र दायित्वलाई पनि कहिल्यै भूल्न हुँदैन ।

, ,