लकडाउनको १९ औं दिन उपत्यकामा २९७ सवारी साधन नियन्त्रणमा

चौतारा   
सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्ने विरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको १९ औं दिन आज शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले २९७ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २८६ दुई पांग्रे र ११ चार पांग्रे रहेका छन् ।
महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।

देश व्यापी रुपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिएको र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका उक्त सवारी साधन छाड्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ  ।

, ,