हेलम्बुका कृषकहरुलाई कृषि उत्पादन बढाउन मल अनुदान

मेलम्ची, १७बैशाख ।
हेलम्बु गाउँकार्यपालिकाको बैठकले कृषि उत्पादन बढाउनको लागि किसानहरुलाई मल ढुवानीमा अनुदान दिने निर्णय गरेको छ ।

मंगलबार बसेको गाउँकार्यपालिकाको बैठकले कोरोना भाइरसको जोखिमले देश लकडाउन भएको अवस्थामा कृषि उत्पादन बढाउने उद्देश्यले हेलम्बुका किसानहरुलाई सहज ढंगबाट सुपथ मुल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो । कृषहरुलाई २ चरणमा मल उपलब्ध गाराइने गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालर्ले  जानकारी दिनुभयो । बर्षे बालिको लागि यहि महिना र हिउँदे बालीको लागि कार्तिकको दोस्रो सता सम्म मल ढुवानीमा अनुदान दिइने कृषिशाखा प्रमुख बरालले बताउनुभयो । पहिलो चरणमा तीन हजार बोरा रसायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । मल ढुवानीको लागि गाउँपालिकाका कृषि सहकारी संस्थाहरुलाई जिम्मेवारी दिएको पनि उनले स्पष्ट पार्नुभयो ।
बार्षिक कम्तीमा ६ हजार बोरा खपत हुने गाउँमा बजार मूल्य भन्दा प्रतिबोरा चार सय ५० रुपैयाँ कममा मल पाउने भएपछि किसानलाई २७ लाख रुपैयाँ सस्तो पर्ने भएको हो । प्रतिबोरा गाउँपालिकाले एक सय तीस रुपैयाँ अनुदान दिने भएपछि सहकारीले संस्थानकै मूल्यमा किसानलाई मल दिन तयार भएको छ । संस्थान मूल्य अनुसार  किसानले युरिया मल अहिले बजार भाउ भन्दा चार सय ५० रुपैयाँको हाराहारीमा सस्तोमा पाउनेछन् ।
स्थानीय रातोपुल कृषि सहकारी संस्थाले हेलम्बुमा रहेका सबै किसानका लागि रासायनिक मल ल्याउनेछ । हेलम्बुमा रहेका कृषि सहकारीहरुको बैठकमा रातोपुल कृषि सहकारीले आफूले गाडीभाडा बराबरको रकम अनुदान पाउने भएपछि संस्थानकै मूल्यमा मल दिनसक्ने जनाएसँगै किसानले सस्तोमा पाउने भएका हुन् ।
यस्तै सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा बराबरको रकम हेलम्बु केरोना रोकथाम तथा नियन्त्रण र उपचार कोषमा दिने निर्णय गरेको प्रमुख प्रशासकी य अधिकृत भीमराज कोइरालाले जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि हेलम्बुले यस अघि नै घर–घरमा डाक्टर अभियान थालेको थियो भने दिर्घरोगीहरुका लागि घर घरमा गएर नै औषधि वितरण गरेको छ । गाउँपालिकाले काठमाडौबाट ८ सय भन्दा बढी आफ्ना नागरिकलाई गाउँ फर्काएको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

, , , , ,