सिन्धुपाल्चोकमा बालबालिकाको नियमित खोप शुरु

चौतारा, रासस
कोरोना भाइरसले बन्दाबन्दीमा रहेका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई दिइने नियमित खोप सिन्धुपाल्चोक जिल्लामा शुरु भएको छ ।
 नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रोकिँदा बालबालिकामा अर्को समस्या देखापर्ने भएकाले नियमित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार खोप शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वास्थ्यकर्मीलाई मास्क र पञ्जा लगाइ सुरक्षित भएर खोप लगाउन आग्रह गरिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताउनुभयो । तीन नगरपालिकासहित १२ स्थानीय निकाय रहेको जिल्लाका सबै १०३ वडामा खोप शुरु गरिएको छ । 
यसबाट दुई वर्षमुनिका छ हजार बढी बालबालिकाले स्वास्थ्य सुविधा प्राप्त गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

, , ,