प्रदेशस्तरीय प्रतियोगिताका लागि कविता वैशाख भित्र पठाउनुपर्ने

चौतारा, १७ बैशाख ।
दोस्रो बृहत सिन्धु साहित्य सम्मेलन अन्तर्गत हुन लागेको बागमती प्रदेश स्तरीय कविता प्रतियोगिताका लागि रचना पठाउने अन्तिम मिति वैशाख  ३१ तोकिएको छ । 
सम्मेलन मूल आयोजक समितिको निर्णयअनुसार वैशाख ३१ गते भित्र आएका कवितालाई मात्रै प्रतियोगितामा समावेश गराइने भनिएको छ ।
सम्मेलन यस अघि वैशाख २५ र २६ गते गरिने तय गरिएको थियो तर महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्यक्रम स्थगित गरिएको आयोजक संस्था दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजुले जानकारी दिनुभएको छ । लकडाउन खुलेपछि अर्को सूचना जारी गर्दे कार्यक्रम मिति तय गरिने भए पनि कविता पठाउने अन्तिम मिति भने यही बैशाख मसान्त तोकिएको कसजूले बताउनु भएको छ ।
बागमती प्रदेशभित्रका कविहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ३०,००० (तीस हजार), द्धितीय हुनेले नगद २०,००० (बीस हजार) र तृतीय हुनेले नगद १०,००० (दश हजार) का साथै प्रमाणपत्र प्रदान गरिनेछ ।
आयोजकका अनुसार कविता दुई चरणमा मूल्यांकन हुनेछ । पहिलो चरणबाट मूल्यांकनबाट छनोट भएका १३ कविलाई वाचनका लागि बोलाइने छ । कबितामा सहभागि हुनको लागि वैशाख ३१ गते ४ बजेभित्र कविहरुले आफ्नो बायो डाटा सहित कविता सम्प्रेषण गर्नुपर्नेछ ।

, , ,