विस्थापित परिवारलाई एकीकृत वस्ती

रासस, जेष्ठ १ ।
 चिराचिरा भएका थातथलो छोडेरे विस्थापित शिविरमा बस्दै आएका सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ लाम्पातेका भूकम्प पीडित एकीकृत बस्तीमा पुर्नस्थापित भएका छन् ।
भूकम्पपछि विस्थापित बनेर अस्थायी संरचनामा बसोबास गर्दै आएका उनीहरुका मुहारमा भूकम्पको पाँच वर्षपछि खुशी फर्किएको छ । औपचारिकरुपमा बस्ती हस्तान्तरण नभए पनि विस्थापित एकीकृत बस्तीका घरमा बस्न थालिसकेका छन् ।
लकडाउनका कारण हस्तान्तरण गर्न सकिएन, विस्थापितहरु घरमा बसिसकेका छन् । एकीकृत बस्ती निर्माणमा सहजीकरण गरिरहेको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भन्नुभयो ।
 दाताले एकीकृत बस्ती बनाइदिएपछि भोटेकोसी गाउँपालिका–५ को त्याङ्थलीमा लाम्पातेका विस्थापित स्थानीय खुशी भएका हुन् । खानेपानी र शौचालयसहित लाम्पातेका २२ विस्थापित परिवारका लागि चिटिक्क परेका घर ठड्याइएको छ । भोटेकोशी गाउँपालिकाले त्याङ्थलीको एकीकृत बस्तीसम्म नै सडक लगिदिएपछि विस्थापितले सुविधासम्पन्न बस्ती पाएका छन् ।
 लाम्पातेका विस्थापितका लागि राज्यले घर बनाउनका लागि त्याङ्थलीमा जग्गा खरिद गरिदियो । तर विस्थापितले दुई वर्षसम्म घर बनाउन भने सकेका थिएनन् । त्यसपछि भोटेकोशी गाउँपालिका र पुनःनिर्माण प्राधिकरणसँग समन्वय गर्दै दाताले एकीकृत बस्ती निर्माणको योजना अघि सारेका थिए ।
जग्गा त राज्यले किनिदियो, दुई वर्षसम्म घर ठडिएन, त्याङ्थली एकीकृत बस्ती निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदमबहादुर तामाङले भन्नुभयो । एकीकृत बस्तीको योजना आएपछि दुई महिनामै सिङ्गो बस्ती उठेको उहाँले बताउनुभयो ।
 विस्थापितका लागि एकीकृत बस्तीको योजना आएपछि गाउँपालिकाले त्याङ्थलीसम्म मोटरबाटो लगेर सहजीकरण गरेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष       राजकुमार पौडेलले बताउनुभयो ।
अक्सफामको सहयोगमा जनहित ग्रामीण सेवा समितिमार्फत निर्माण सम्पन्न भएको एकीकृत बस्ती निर्माणमा रु एक करोड ५९ लाख रकम खर्च भएको छ । स्थानीय स्वयं श्रममा जुटेका कारण कम लागतमै खानेपानी र शौचालयसहित २२ घर निर्माण भएको अक्सफामले जनाएको छ । अक्सफामका अनुसार प्रतिघर रु सात लाख २५ हजार लागत लागेको छ ।
 त्यस्तै बाटो तथा पहिरो           रोकथामका लागि बजेट विनियोजन भइसकेको  र अन्य पूर्वधारको काम हुने पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोक प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।

, ,