लकडाउनको समयमा पनि शिक्षकलाई सिकाइकै चिन्ता

काठमाडौ । 
नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताएका छन् ।
 सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उहाँले बताए । 
नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु भएको ४ दिने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिम कार्यक्रमको उद्घाटन गर्दै निधिले शिक्षकहरु आफै आफ्नो क्षमता अभिवृद्धि गर्न क्रियाशिल रहनुले सार्वजनिक शिक्षामा सुधारको संकेत       गरेको बताए ।
बाहिरबाट हेर्दा शिक्षकहरु घरमा छुट्टी मनाएर बसेका देखिएपनि भित्रिरुपमा उनीहरु नयाँ सिर्जना र क्षमता विकासमा जुटेको देख्दा आफूलाई हर्षित बनाएको उनको भनाइ थियो । 
पूर्व शिक्षामन्त्रीसमेत रहेका निधिले शैक्षिक संस्थाहरुलाई लामोसमय पूर्णतः बन्द गरेर राख्न नहुने भन्दै सिकाइ    निरन्तरताका लागि सरकारले विकल्पहरु खोज्नुपर्ने धारणा राखे । 
‘सरकारले अनलाइन शिक्षाको     कुरा मात्रै गरेको छ त्यसका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउन कुनै कदम चालेको छैन’– निधिले भने, ‘यस्तो अवस्थामा शिक्षकहरु आफैले प्रविधिमैत्री बन्न तालिम सञ्चालन गरेर आफूहरु शिक्षण सिकाइको सुधार र निरन्तरता प्रति चिन्तित रहेको देखाएका छन् ।’
शिक्षकमा आफै आफ्नो क्षमता र योग्यता सुधार्न पहल हुनुले सार्वजनिक शिक्षामा सुधारको संकेत  मिलेको उनले स्पष्ट पारे । शिक्षकहरु क्षमतावान र गुणस्तरीय बनेपछि नै सार्वजनिक शिक्षापनि गुणस्तरीय बन्ने उनको भनाइ थियो । शिक्षकहरुको क्षमता सुधार्न पहल लिएकामा संघका निर्वतमान उपाध्यक्ष बानियालाई उनले धन्यवादसमेत दिनुभयो । 
तालिममा सहभागी हुन थालेका शिक्षकहरुलाईसमेत निधिले अर्थपूर्ण समय छुट्याएर यसलाई उपलब्धिपूर्ण बनाउन सुझाब दिए । सबैठाउँमा अनलाइन शिक्षा सम्भव नभएपनि जहाँ जसरी सिकाइ गर्न सकिन्छ ती माध्यमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिन उनले शिक्षकहरुसँग आग्रह गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ, संघ तथा सार्क शिक्षक महासंघका निर्वतमान अध्यक्ष केशव       निरौलाले शिक्षकहरुले वर्तमान प्रतिकुलतालाई चिर्दै नयाँ सिकाइ र सिर्जनाको प्रयास गर्नु अनुकरणीय काम भएको बताउनुभयो । यसले शिक्षक वर्गको अधिकार र कर्तव्यको अभियानलाई थप बल पुगेको उहाँको भनाइ थियो । 
बानियाका अनुसार ४ दिने तालिलममा पहिलो दिन पावरप्वाइन्ट। पीडीएफ, प्रिती–युनिकोड टाइपिङ सिप सिकाइने तथा दोस्रो दिन फाइल एक्टेन्सन, फोटोसप र गुगलका विभिन्न फिचर चलाउने सिप सिकाइने छ । 
यस्तै, तालिमको तेस्रो दिन ब्राउजर, सर्च इन्जिन, ब्लगस्पट, सिकाइ साम्रगी निर्माण गरी युट्युवमा अपलोड गर्न र सिकाइ सामग्री खोजेर डाउनलोड  गर्न साथै चौंथो दिन विभिन्न अनलाइन शिक्षण प्लेटफर्महरुको प्रयोग, मोवाइल वा ल्यापटपबाट सिकाइ, नतिजा, गृहकार्य, छलफल विधिलगायतको सिप सिकाइने बानियाले जानकारी दिए ।
४ दिनसम्म चल्ने शिक्षक प्रविधि सिप अभिवृद्धि अनलाइन तालिममा तालिम संयोजकको भुमिकामा  रमेशबाबु भट्टराई रहेका छन् भने विकल श्रेष्ठले तालिम प्रशिक्षण गर्ने छन् । तालीम जेठ ८ गते देखि ११ गतेसम्म दैनिक १ देखि ३ बजेसम्म सञ्चालन हुने छ । 

, , , ,