बुद्धको दर्शन र उपदेश मानवका लागि सकारात्मक सन्देशः सभामुख सापकोटा

चौतारा, बैशाख २५ । 
सभामुख अग्निप्रसाद सापकोटाले शान्तिका अग्रदूत गौतमबुद्धले प्रतिपादन गर्नुभएको दर्शन, उपदेश र मार्गदर्शनले समग्र मानवजातिलाई सकारात्मक सन्देश दिएको बताउनुभएको छ । 
बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले बुद्ध नेपाली माटोमा जन्मिएर विश्वभर आफ्नो ज्ञानको उज्यालो फैलाउन सफल दार्शनिक, विचारक र चिन्तक रहेको स्पष्ट पार्नुभएको छ । विश्व शान्तिका प्रणेता र अर्बौं मानिसका लागि सम्मानित व्यक्तित्व वन्नु एवं नेपालबाट विश्वभर शान्तिको सन्देश जान सक्नु हाम्रा लागि गौरवको विषय भएको उहाँको भनाइ छ
नेपाललाई विश्वमा चिनाउन पनि बुद्ध र उहाँको दर्शनको विशेष भूमिका रहेको उल्लेख गर्दै सभामुख सापकोटाले भन्नुभएको छ, “बुद्धको त्याग, तपस्या, ध्यान, साधना र मार्गदर्शनको पालनाले नेपालीको एकत्व र मनोबल सधैँ उचो राखिराख्न मद्दत पुग्ने विश्वास लिएको छु ।” 
बुद्धलाई सचेततापूर्वक ब्यूँझेकोे, जीवन जगत्का विषयमा जागरुक, आफैँले आफैँलाई बुझेको अर्थमा लिने गरिएको उल्लेख गर्दै सभामुखले उहाँका  वैज्ञानिक र व्यावहारिक ज्ञानलाई जीवन पद्धतिमा आत्मसात् गर्न सकेमा यसले जीवनयापनलाई थप सजिलो पार्ने बताउनुभएको छ । बुद्धका सर्वकालीक पञ्चशील सिद्धान्तको पालनाले आजको अप्ठ्यारो परिस्थितिमा समेत शान्ति र अमनचयन कायम गर्न सहज हुने उहाँको विश्वास छ । 
त्यसैगरी सभामुख सापकोटाले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । रासस

, , ,