गुणस्तरीय कामका लागि स्थानीयको दबाब

चौतारा, बैशाख २६ । 
खाडीचौर जिरी सडकको एक किलोबाट नेपाल बिद्युत प्राधिकरण जाने सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
कालोपत्रे गर्ने नाममा झारा टार्ने काम मात्र भएको भन्दै स्थानीय प्याराडाइज यूवा क्लवको अगुवाइमा स्थानीय यूवाहरु गुणस्तरीय कामका लागि सडकमा उत्रिएका हुन् ।
नेपाल बिद्युत प्राधिकरणले केही महिना अघि यो सडक कालोपत्रेका लागि टेण्डर आव्हान गरि सन्तोष निर्माण सेवालाई ठेक्का दिएको थियो ।
ठेक्का लिएको लामो समयपछि काम सुरु भएपनि गुणस्तरीय काम नभएको भन्दै स्थानीय बिरोधमा उत्रिए । झारा टारेर पैसा सक्ने काम नहोस्, गुणस्तरीय काम हुनुपर्छ भनेका हौं, प्याराडाईज यूवा क्लवका अध्यक्ष अनुप बस्नेतले भन्नुभयो । राजनीतिक दवावमा गुणस्तरहिन काम हुन नदिने स्थानीय बताउँछन् ।
राजनीतिक दवाब र मिलेमतोमा ठेक्का दिइएको र गुणस्तरीय काम नभएको स्थानीय यूवा शशी केसीले सुनाउनुभयो । लौ हेर्नुस्, यस्तो पनि पिच हुन्छ रु, अलकत्रा छर्केर कालोपत्रे राख्न लागिएको सडक उप्काउँदै शशी भन्दै हुनुहुन्थ्यो ।
झमझम पानी परिरहेका बेलामा पनि कालोपत्रे बिछ्याइएको भन्दै अर्का स्थानीय शरद कार्कीले आक्रोश पोख्नुभयोे । आँखामा छारो हाल्ने काम नहोस्, गूणस्तरीय काम भएन भने हामी भत्काइदिनेछौं, उहाँले भन्नुभयो ।
कालोपत्रेको काम पाएको सन्तोष निर्माण सेवाका प्रोपाइटर मिठु बोहोरा भने आफुले गुणस्तरीय काम गर्ने बताउनुभयो । छारो,धुलो उड्छ भनेर मेसिन लगाइएन, पटक पटक झाडु लगाइएको छ, बोहोराले भन्नुभयो । उहाँले कमी कमजोरी भएका ठाउँमा सुधार गर्दै काम अघि बढाइने बताउनुभयो ।

, , , ,