चौतारा अस्पतालले पुनः शुरु गर्याे प्रसूति शल्यक्रिया सेवा

चौतारा, बैशाख २५ । 
जनशक्ति अभावमा रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । डा अशोक यादवलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो ।Image may contain: one or more people, people sitting and hat
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिको सक्रियता, सामाजिक विकास मन्त्रालय, वाग्मती प्रदेश र स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ  खर्च र ज्यानको जोखिम दुवै कम भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमित प्रजापतिले भन्नुभयो, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसकेकालगायत जटिल प्रकारका शल्यक्रिया पनि सफलरूपमा हुन थालेको छ ।” शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा शुरु गरेसँगै दुई जनाको सफल शल्यक्रिया भएको छ । उहाँले भन्नुभयो, “अत्यधिक रगत चाहिने अवस्था र आइसीयूमै भर्ना गर्नुपर्ने अवस्थाबाहेक अन्य सबै प्रकृतिका गर्भवतीको सेवामा हामी २४सै घण्टा सेवा दिन सक्छौँ ।” अस्पतालबाट करारमा डा र एनेश्थेसिया एसिस्टेन्ट नियुक्त गरी आकस्मिक र जटिल प्रसूति सेवा २४सै घण्टा सेवा उपलब्ध गराइएको हो । सेवा सञ्चालनपछि जटिल अवस्थाका गर्भवतीलाई सहज पुगेको अस्पतालका डा अशोक यादवले बताउनुभयो ।
प्रसूति सेवा रोकिँदा धेरै गर्भवती जिल्ला छाडेर अन्यत्र शहर जान बाध्य भएका थिए । जटिल अवस्थाका गर्भवतीलाई अस्पताल ल्याइँदा पनि सेवा छैन भनी सुत्केरी गराउन धुलिखेल, थापाथलीमा पठाउनुपर्दाको क्षण अत्यन्त पीडादायी हुने स्वास्थ्यकर्मीले बताउनुभयो  । मातृशिशु मृत्युदर घटाउने उद्देश्यले जटिल (शल्यक्रिया) प्रसूति सेवा गृहजिल्लामा उपलब्ध गराउने सेवालाई निरन्तरता दिइएको हो ।
ग्रामीण भेगका महिलामा चेतना बढ्दै गएकाले सुरक्षित सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या बढ्दै गएको डा सदिना देवकोटाले बताउनुभयो । कतिपय महिला नियमित स्वास्थ्य जाँचबिना नै एकैपटक सुत्केरी गराउन अस्पताल आउने गरेकाले कहिलेकाहीँ समस्या हुने गरेको उनको भनाइ छ । अस्पतालमा ब्लडबैंकको व्यवस्था नहुँदा भने तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा समस्या हुने भन्दै उनले त्यस्तो अवस्थामा रगत दिने मान्छे खोजेर समस्या समाधान गर्ने गरिएको बताउनुभयो ।
अस्पतालले निःशुल्क शल्यक्रियालगायत अन्य आवासीय र थप आवश्यकीय सेवा पनि उपलब्ध गराउँदै आएको छ । साधारण सुत्केरीका लागि खाना, बस्नका साथै तीन हजारसहित शिशु र आमाका लागि कपडासमेत उपलब्ध गराउँदै आएको छ । अस्पतालमा अस्पताल प्रमुख डा अमित प्रजापति, एएसबीए तालिमप्राप्त डा अशोक यादव, डा सदिना देवकोटा, एनेस्थेशिया एसिस्टेन्ट विवेकानन्द यादव, स्टाफ नर्सहरू ज्ञानी खड्का, नानीछोरी अदुवालगायत समूहले शल्यक्रिया गर्ने गरेको छ । पन्ध्र श्ययाको जिल्ला अस्पतालमा अन्य सुविधाजस्तै रक्तसञ्चार गृह, आइसीयूकक्षको अभाव भएकाले सेवा प्रवाहका जटिलता हुने गरेको छ । जिल्लाका ४१ स्थानमा सुत्केरी केन्द्र ९बर्थिङ सेन्टर० भएता पनि शल्यक्रियामार्फत प्रसूति सेवा भने जिल्ला अस्पतालमा मात्र हुन्छ ।उपचारका लागि बाहिर जाँदा धेरै खर्च हुने समस्या अब समाधान भएको छ । अस्पतालले जनस्वास्थ्यलाई मध्यजनर गरेर थपेको सेवाप्रति स्थानीयवासी खुशी छन् । रासस

, , ,