साल्ट ट्रेडिङ कम्पनीले तोकेकै दरमा हेलम्बुका किसानलाई मल

देवराज सुवेदी,मेलम्ची,  वैशाख २६ 
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले किसानलाई गाउँपालिकाको अनुदानमा रासायनिक मल वितरण गर्न सुरू गरेको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार आजदेखि हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् ।
“अब हिउँद बर्षा दुबै खेती लगाउने समयमा नियमित रूपमा गाउँपालिकाले आवश्यकता अनुसारको रासायनिक मल उपलब्ध गराउने छ ।” शेर्पाले भन्नुभयोे ।
यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार यो मल उपलब्ध गराउन लागेको हो ।
गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन । स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २३०० मा वडा वडामा वितरण गरिने शेर्पाले बताउनुभयो ।
कृषि उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पाको भनाई छ ।
उहाँले रासायनिक मलमा अनुदानको अलावा आगामी बर्षदेखि कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत ब्यवस्थापन गरिदिने बताउनुभयो ।

, , ,