शहीदलाई सम्मान गर्दै गणतन्त्र दिवसको अवसरमा शहीद स्तम्भको अनावरण

चौतारा,जेष्ठ १५ । 
१३ औं गणतन्त्र दिवसको अवसरका चौतारा साँगाचोकगढी नगरपालिका– ५ स्थित शहीद चोकमा निर्माण गरिएको शहीद स्तम्भको अनावरण गरिएको छ । 
उक्त स्तम्भको अनावरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले शहीदहरुको अतुलनीय योगदानको सम्मान गर्दै आफ्नो संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।
 मेयर तामाङले गणतन्त्र ल्याउन शहीदहरुको अतुलनीय योगदान रहेको चर्चा गर्दै भन्नुभयो ‘शहीदहरु सबैको अभिभावक र सम्पत्ति हुन्’, तामाङले भने– ‘अहिलेको प्राप्त अधिकार शहीदहरुले बली चढेकै कारण आएको हो ।’
शहीदचोकमा निर्माण गरिएको शहीद स्तम्भमा डम्फू र नगरको नक्सा राखिएको छ । नगरभित्रका प्रत्येक चोकहरुमा त्यहाँका संस्कृति र पहिचान झल्कने प्रतिकहरु राख्दै मिनि पार्क बनाउने नगरको उद्देश्य रहेको तामाङ प्रष्ट्याउनुभएको छ ।
शहीदहरुको योगदान र आफ्नो संस्कृतिलाई बिर्सिए आफ्नो बुबा आमालाई बिर्सिएको सरह हुने भन्दै शहीदको योगदानलाई सम्मान गर्दै आफ्नो संस्कृति र विकासका कार्यहरुलाई अगाडि बढाउन मेयर तामाङले नगरबासीलाई अनुरोध गर्नुभयो । 
स्तम्भ अनावरण कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठले नगरको पहिचान खुल्ने गरी निर्माण गरिएको शहीद स्तम्भ सबैको साझा सम्पत्ति भएका कारण संरक्षण ध्यान दिन आग्रह गर्नुभयो । 
चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा दुःखी प्रकाशन सिन्धुपाल्चोकले शहीद स्तम्भ निर्माण गरेको हो । स्तम्भमा विभिन्न समयमा शहीद बन्न पुगेका नगरभित्रका ८३ जनाको नाम, तामाङ समुदायको संस्कृति झल्कने डम्फू र नगरको सबै वडा छुट्टिने नक्सा राखिएको छ ।
उक्त अनावरण कार्यक्रमम नगरभित्रका विभिन्न वडाका वडाअध्यक्ष, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष छत्रबहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

, , ,