विदेशबाट आएकालाई राख्न बन्देउमा ‘होल्डिङ सेन्टर’ बनाउने तयारी


चौतारा,असार २ गते । 
विदेशबाट आएका जिल्लाका नागरिकहरुको व्यवस्थापन गर्नका लागि बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो ।


विदेशबाट आएकालाई काठमाडौंमा रहेको बाग्मती प्रदेशको होल्डिङ सेन्टरबाट ल्याएर जिल्लाका बिभिन्न स्थानीय तहमा पठाउन बन्देउमा अस्थायी होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो ।
आइतबारको उक्त बैठकले काठमाडौंमा रहेको होल्डिङ सेन्टरबाट यातायातको व्यवस्था गरि बन्देउको होल्डिङ सेन्टरसम्म ल्याउनका लागि विदेशबाट आएका नागरिकहरुको व्यवस्थापन गर्न जिल्लामा बनेको उपसमितिलाई जिम्मा दिएको छ । बन्देउको होल्डिङ सेन्टरबाट स्थानीय तहहरुले यातायातको व्यवस्था गरि आफ्ना नागरिकलाई स्थानीय तहहरुले व्यवस्था गरेको क्वारेन्टाइनमा लानेछन् ।
बन्देउको होल्डिङ सेन्टरका लागि आवश्यक कुर्सी, पानी, शौचालयजस्ता आवश्यक भौतिक सामग्रीको निर्माण गर्न र काठमाण्डौंबाट सिन्धुपाल्चोक ल्याउन यातायातको व्यवस्थाका लागि प्रत्येक स्थानीय तहले ५० हजारका दरले रकम उपलब्ध गराउने भएका छन् । मेलम्ची क्षेत्रका स्थानीय तहका लागि भने जिरो किलो (काभ्रेपलाञ्चोक) बाट सम्बन्धित स्थानीय तहले आफ्ना नागरिक लाने व्यवस्था मिलाइनेछ ।

, ,