समन्वय अधिकारीको संयोजकत्वमा विदेशबाट आएकाको व्यवस्थापन गर्न उपसमिति गठन

चौतारा,जेष्ठ २६ । 
विदेशबाट जिल्ला आएका  व्यक्तिहरुको व्यवस्थापनको लागि जिल्ला समन्वय अधिकारी महेन्द्रनाथ भट्टराईको संयोजकत्वमा एक उपसमिति निर्माण भएको छ ।

बिदेशबाट नेपाल आएकाहरुलाई काठमाडौंसम्म  लिन जाने र क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि भट्टराईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको हो  ।
जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले उक्त उपसमितिको गठन गरेको हो । 
उपसमितिले वाग्मती प्रदेशको होल्डिङ सेन्टरसम्म पुगेर विदेशबाट आएका जिल्लावासीलाई ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछ । विदेशबाट हालसम्म जिल्लाका सातजना आएका छन् । उनीहरुमध्ये तीनजना चौताराको क्षत्रिय  क्वारेन्टाइनमा रहेका  छन् ।
उपसमितिको सह संयोजकमा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, प्रशासकीय अधिकृत रामकृष्ण घिमिरे, शसस्त्र प्रहरी इन्स्पेक्टर निरक शाही, खोप अधिकृत पार्थमणी न्यौपाने, नेपाली सेनाका अधिकृत र पत्रकार महासंघका एक एक जना प्रतिनिधि रहेका छन् । 
साथै बैठकले विदेशबाट आएकाको व्यवस्थापनमा थप सहज गर्न स्थानीय तहमा जिम्मेवार एकजना व्यक्तिलाई सम्पर्क व्यक्ति तोक्न पनि स्थानीय तहहरुलाई अनुरोध गरेको छ । 
यसैगरी विदेशबाट आएका व्यक्तिहरुलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टाइन बनाउनेबारे थप छलफल गर्न चौतारा साँगाचोकगढीका मेयर अमान संि तामाङ सहित सम्बन्धित वडाका वडाध्यक्षलाई जिम्मेवारी दिइएको छ । 
यसअघि नै होटल व्यवसायी र सरकारी अधिकारी बीच भएको छलफलमा क्वारेन्टाइन बनाउनेबारे सहमति भएतापनि स्थानीयवासीले विरोध गरिरहेका छन् । 

, , ,