सिन्धुपाल्चोकको भिमटारमा पहिलो पटक मेसिनबाट मकै रोपियो

लोकप्रिय समाचार, चौतारा ।
 सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पहिलोपटक मेसिनबाट मकै रोपिएको छ । 

इन्द्रावती १० को ठूलीटारमा जिल्लामै पहिलो पटक ‘सिड कम फर्टिलाईजर ड्रिल’ प्रविधि मार्फत मकै रोपिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको समन्वयमा ठूलीटारमा सो प्रविधिमार्फत सामूहिक मकै खेती सुरु गरिए सँगै उक्त ठाँउमा उक्त मेसिन  द्धारा मकै रोपिएका गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभएको छ ।
ठूलीटारका सामुहिक खेतीका लागि सुरुमा किसानको जग्गालाई ठूलो ट्याक्टरले सम्याइएको थियो । सो ठाउँमा बिहिबार मेसिनको प्रयोग गरेर मकै रोपिएको हो । मेसिनले मकै र मल एकैचोटि सामान दुरीमा हाल्ने गर्दछ । जसको कारण समय र मजदुरको समेत आर्थिकभार किसानलाई कम पर्दछ ।
ठूलीटारमा तीन सय रोपनीमा मकैखेती गर्ने गाउँपालिकाको योजना भएतापनि १ सय ५० रोपनीमा मात्रै मकैबाली लगाइएको गाउँपालिकाका कृषि प्रमुख नवराज उपाध्यायले जानकारी दिनुभएको छ । मुल बिउँ अभावका कारण भनेजति ठाउँमा मकैैबाली लगाउन नसकिएको उहाँले बताउनुभयो । सामुहिक मकै खेतीबाट मकैको मूल बिउँ उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
गाउँपालिकाले १ सय ५० रोपनीमा लगाइएको मकैबालीबाट १५ सय टन मकैको बिउँ उत्पादन गर्ने लक्ष्य राखेको छ । उक्त उत्पादित बिउँ गाउँपालिका तथा मकै जोन कार्यक्रमले किनेर किसानलाई उक्त बिउँ बराबरको पैसा दिनेछ । यो सामुहिक खेतीका लागि प्रदेशबाट समेत बजेट परेको थियो ।

, , ,