पेशालाई आधुनिक बनाउँदै चौताराका दलित

अस्मिता परियार, चौतारा, असार ७ । 
चौतारा साँगाचोकगढी नगरपालिका नगर दलित समन्वयले सञ्चालन गरेको गार्मेन्ट उद्योग चौतारामा सुरुवात भएको छ । 
परम्परागत दलित समुदायले गर्दै आएको पेशालाई आधुनिकीकरण गरि आय आर्जन तथा रोजगारीको  विकासगरि दलित समुदायको उत्थान गर्न सिलाई पेशा गरि रहेका नगर भित्रकै कालिगढलाई परिचालन गरि उद्योग सञ्चालन गरिएको छ । चौतारा साँचोकगढी नगरपालिकाको प्रमुख लगायतका उपस्थितीमा उक्त उद्योगको हिजो औपचारीक सुरुवात गरिएको छ ।
विगतमा जिविकोपार्जन कै लागि  कपडा सिलाउने परियार समुदायको लागि मात्रै नभई यो सिंगो दलित समुदाय कै लागि खुसीको विषय भएको र यसको निरन्तरताको लागि सबैले अपनत्व महशुस गरि सहयोग गर्नु पर्ने दलित अधिकार मञ्चका अध्यक्ष उमेश विश्वकर्माको धारणा छ  । चौतारा साँगाचोकगढी नगरपालिको आर्थिक सहयोगमा सञ्चालित उक्त गार्मेन्टमा हाल प्रचलनमा रहेका अत्याधुनिक मेसिन जडान गरिएको र जसले उत्पादनलाई बढावा दिन सकिने कार्यरत कालिगढहरुको भनाई छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर कार्यपालिका सदस्य सागर परियारले यो गार्मेन्ट सहकारी मार्फत सञ्चालन गर्ने र यसलाई बृहत रुपमा सञ्चालन गरि बालि घरे प्रथालाई अन्त्य गर्न लक्ष्य रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाध्यक्ष राम प्रसाद गौतमले विगतमा नगरले नागरिक सचेतनामा गरेका लगानीको उचित प्रतिफलको रुपमा गार्मेन्ट उद्योग देख्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । रोजगार सिर्जना गर्न मद्दत गर्ने यो गार्मेन्ट उद्योगले अब सबै लक्षित वर्गको कार्यक्रम उत्पादन मुलक कार्यमा लाग्न प्रेरित र दवाव दुवैको काम गरेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमनसिंह तामाङ्गले गार्मेन्ट उद्योग हाल सम्मकै लक्षित वर्गको कार्यक्रम मध्येको उत्कृष्ट कार्य भएको बताउनु भयो । यसरी समुदायको पिँधमा परेको दलित समुदायको उन्नयन र विकासमा आफु सहयोग गर्न सदा तयार रहेको बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष तथा नगर स्तरीय दलि समन्वय समितिका अध्यक्ष हरि वि.क.ले यसले दलित समुदायको मात्रै नभई अन्य सिप भएका समुदायका लागि रोजगारको विकास गर्न सक्ने सम्भावना बोकेको बताउनु भयो । साथै यसलाई अब नगरले लक्षित वर्गको मात्रै नभई उद्योग विकास तथा अन्य शिर्षकबाट नै भए पनि रकमको विनियोजन गरि यसलाई थप व्यवस्थित तथा विस्तार गर्न नगरले ध्यान दिन आग्रह समेत गर्नु भयो ।     

, , , , , ,