भीमटारका माझी बस्तीका ५३ परिवारलाई राहत सामग्री

 चौतारा,असार ६ । 
चौतारा साँगाचोकगढी नगरपालिका १४ को माझी बस्तीका ५३ माझी परिवारलाई नेपाल प्रहरी श्रीमती संघले खाद्यान्न लगायत लत्ताकपडा वितरण गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका १४ संगको सहकार्यमा लकडाउनबाट प्रभावित माझी समुदायलाई संघले चामल लगायत अन्य खाद्यान्न सामाग्री सहित सहयोग गरेको हो । संघले प्रती परिवारका लागि ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल, ४ वटा साबुन, १ पाकेट नुन, १ थान ब्ल्यान्केट र १ थान झुल सहयोग गरेको छ । 
५३ परिवारलाई संघकी अध्यक्ष ज्ञानु ज्ञवालीले सहयोग सामाग्रीलाई स्थानीय वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ मार्फत टोलवासीलाई हस्तान्तरण गर्नुभएको थियो । वडाध्यक्ष शेरबहादुर श्रेष्ठले आफ्नो वडाको सबै भन्दा विपन्न माझी समुदायमा सहयोग सामाग्री वितरण गरिदिएकोमा नेपाल प्रहरी श्रीमती संघ प्रति धन्यवाद प्रकट गर्नुभएको छ । 
उहाँले सामग्रीलाई राहत भन्दा पनि कोसेलीको रुपमा स्विकार गरिदिन आग्रह गर्नुभएको छ । उहाँले माझी बस्ती हेर्ने तीव्र इच्छा भएकाले त्यही क्रममा यस दुखद अवस्थामा केही राहत सामग्री लिएर आएको बताउनुभयो । नायिका श्वेता खड्काले बनाइरहेको बस्तिमा ५३ वटा घरहरुको निर्माण पश्चात अहिले अन्य पूर्वाधार विकासको काम सुरु भएको छ ।
अहिले वस्तीमा रिटेनिङ्ग वाल लगाउने र बाटोमा ढुङ्गा छाप्ने काम धमाधम अगाडि बढीरहेको छ । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाट १ करोड ३० लाख र ३ नं प्रदेश सरकारबाट १ करोड गरी जम्मा २ करोड ३० लाख रकम उपभोक्ता समिती मार्फत सहयोग रहेको छ । 

, , ,