बलेफी गाँउपालिकाको झण्डै ४४ करोडको बजेट पारीत
चौतारा, असार १० ।
बलेफि गाँउपालिकाले आर्थिक बर्ष ०७७÷०७८ का लागी झण्डै ४४ करोडको बजेट पारीत गरेको छ ।
पालिका उपप्रमुख कमला कायस्थले पेश गर्नुभएको बजेटको पारित गर्दै बलेफी गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न गाँउसभामा ४३ करोड ४६ लाख ९१ हजारको बजेट सर्वसम्मतले पारीत भएको हो । संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट उक्त बजेट बिनियोजन भएको हो । बिनियोन भएको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सामाजिक विकासमा केन्द्रित रहेको छ ।
बलेफि गाँउपालिकाले अन्य पालिकाको तुलनामा केहि नयाँपन देखाएको छ । बिश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना कहर र सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकका समस्यालाई मध्यनजर गर्दै पालिकाले सम्पती तथा व्यवसाय करमा ५० प्रतिशत घटाईएको छ ।
कृषि क्षेत्रलाई प्राथमिकता रहेको बजेटमा पालिकामा बिषादीरहित सामाग्रि उत्पादनमा प्रोत्साहन गर्ने भएको छ । पालिका भित्र रहेका बाझो जग्गाको उपयोग गरी कृषकलाई बिषादीरहित तरकारी, फलफुल उत्पादन तथा पशुपालनमा प्रोत्साहन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
यस्तै विकास योजनाका काम प्रभावकारी बनाउन बैशाख भित्रै काम सम्पन्न गर्ने नीति समेत गाउँसभाले पारीत गरेको छ । माघ मसान्तसम्म योजना सम्झौता र बैशाख मसान्तसम्म सम्पन्न गर्ने नीति पारीत भएको हो ।
पालिकाले गत सालहरुमा झै बजेट नछरी साना तथा टुक्रे योजनालाई निमुल नै पारेको छ । स साना र टुक्रे योजनामा बजेट खर्च हुने र काम नदेखिने भएको कारण योजना छनोट गर्दा एकमुष्ट रुपमा देखिने गरि गरिएको वडा नं. ८ का वडाध्यक्ष चरी बहादुर तामाङले बताउनुभएको छ । बलेफीले हरेक वडाका मुख्य सडक स्तरोन्नतीका लागी एकमुष्ट बजेट छुट्याएको छ । वडागत रुपमा ६४ लाख बजेट मध्ये सबै वडाले ५० लाख बजेट मुख्य सडक स्तरोन्नतीमै छुट्याएको हो ।