सभामुख सापकोटाको गरियो आँखाको शल्यक्रिया

शुसिल सुबेदी, चौतारा, असार २४ । 
आँखामा मोतियाविन्दुको समस्या भएपछि सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 
बुधबार बिहान साढे १० बजे काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले शल्यक्रिया गरेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । 
पछिल्लो समय उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा  शल्यक्रिया गरिएको प्रेस सल्लाहाकार न्यौपानेले बताउनुभयो । उपचारका क्रममा लागेको सम्पूर्ण खर्च  राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयमले नै व्यहोर्नु भएको छ ।
सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ ।
सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.  ४ स्थानिय ठेगाना भएका सम्माननिय सापकोटा गएको निर्वाचनमा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ बाट विजयी  हुनुभएको थियो ।

, , ,