बाढीपहिरो पीडितका लागि तरुण दलको सहयोग

लोकप्रिय संवाददाता, साउन ०९ ।
बाढीपहिरोबाट आक्रान्त भएका पीडित परिवारलाई नेपाल तरुण दलले आर्थीक सहयोग गरेको छ ।
 तरुण दलले नगद, खाद्यान्न तथा आवासिय सामाग्री वितरण गरेको छ । दलका सदस्य र शुभचिन्तकहरुले व्यक्तिगत रुपमा आफैंले जम्मा गरेको उक्त रकम र सामाग्री जुगल गाउपालिकाको लिदी, भोटेकोकोसीको तातोपानी, कोदारी एवं सुख्खाबन्दरगाह तथा बाह्रबिसे नगरपालिकाको जम्बुका पीडितलाई वितरण गरिएको हो ।
बाह्रबिसे खागदलका पीडितहरुलाई केही दिनमै वितरण गरिने जनाइएको छ । तरुण दल सिन्धुपाल्चोक अध्यक्ष तथा महासमिति सदस्य दोर्जे लामाको नेतृत्वमा जम्बुका विस्थापित २७ परिवारलाई २–२ हजारका तथा मृतको परिवारलाई ५–५ हजार गरी ९९ हजार हस्तान्तरण गरिएको छ ।
भोटेकोसी–४ फुलपिङकट्टीको मृतकको परिवारलाई ३० हजार, तातोपानी बजारस्थित सर्की शेर्पाको परिवारलाई २० हजार प्रदान गरिएको छ । दलका अध्यक्ष लामाका अनुसार तातोपानीको सुख्खाबन्दरगाहमा बस्दै आएका १६ जना अपांग र ३ जना सुत्केरीलाई एक हजारका दरले नगद सहयोग प्रदान गरिएको छ । बन्दरगाहका २१ जना बालबालिकालाई एक÷एक वटा हर्लिक्स प्रदान गरिएको छ । त्यहा विस्थापितलाई ३५ बोरा चामल पनि प्रदान गरिएको दलले जनाएको छ । त्यसैगरी कोदारीका ४० परिवार विस्थापितलाई ७४ थान त्रिपाल, ६ सय मिटर प्लाष्टिक र ४० बोरा चामल हस्तान्तरण गरिएको छ ।
यस अघि दलका सदस्यहरुले संकलन गरेको रकमबाट लिदीवासीलाई हेलिकोप्टरबाट ८५ थान त्रिपाल पठाएको थियो  । हाल दलका सदस्यहरुको अगुवाइमा एक लाख ६८ हजार नगद सहयोग प्रदान गरिसकिएको छ । 

, , , ,