गजल
टिपेपछि कोपिला फूल्न भन्छौ तिमी
बसेपछि माया भुल्न भन्छौ तिमी ।
एउटा घाम अर्को जुन सँगै हुनु कसरी
बालुवालाई पानीमा घुल्न भन्छौ तिमी ।
काँडा झैं स्वभाव के देखिन्थ्यौ कोमल
लटरम्म धान जस्तै झुल्न भन्छौ तिमी ।
पिञ्जडामा थुनेर राखेपछि सुगालाई
जा जा खुला आकाशमा डुल्न भन्छौ तिमी ।
लाजको घुम्टो ओढेकी लजालु दुलही हैन
पर्दा ठान्यौ की कुन्नी खुल्न भन्छौ तिमी ।।