चौताराले ल्यायो १ अर्ब ५ करोड २३ लाखको बजेट

अर्जुन शर्मा, चौतारा, असार  २६ । 
चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा दिएर १ अर्ब ५ करोड २३ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले शुक्रबार आयोजना गरेको ८ औं नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो । बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा दिईएको छ । नगरपालिकाले  स्वास्थ्य क्षेत्रमा मात्रै २ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै कृषि क्षेत्रमा २ करोड ५० लाख, नगर गौरवको योजनामा २ करोड, शिक्षामा १ करोड ८० लाख, लक्षित वर्गको लागि १ करोड ५० लाख, पशु विकासका लागि १ करोड, रोजगारमा १ करोड,मेयर पुर्वाधारमा १ करोड ५० लाख लक्षित बर्गमा १ करोड ५० लाख, म्याचिङ फन्टमा २ करोड बजेट विनियोजन गरिएको छ । यस सँगै उक्त बजेटमा खानेपानी, युवा तथा खेलकुद, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिमा समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ ।
त्यस्तै नगरपालिकाले गत सालको बजेटलाई खुम्च्याएर प्रत्येक वडाको लागि ७५ लाखको दरले बजेट विनियोजन गरिएको छ । बजेट अभावका कारण आगामी आ.ब.मा वडास्तरीय योजनाको लागि बजेट घटन गएको हो ।  
सभामा नगरपालिकाले गत बर्षमा संकलन गरेको आय समेत प्रस्तुत गरेको थियो । नगरपालिकाले जेठ मसान्तसम्म नदीजन्य पदार्थबाट मात्रै १८ करोड ६४ लाख २० हजार राजश्व संकलन गरेको  जनाएको छ । त्यस्तै अन्य राजश्व बापत ५४ लाख ८८ हजार ७ सय ५४ रुपैंया संकलनन भएको सभामा प्रतुत गरिएको छ । यस्तै नगरपालिकाले  नगरपालिका भित्र ३ हजार २ सय ६२ मिटर सडक कालोपत्रे गरिएको समेत जनाएको छ । 
आ.ब. २०७७÷०७८ को लागि नगरले १६ वटा नीति अख्तियारी समेत गरेको छ । नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य, कृषि, रोजगार, पर्यटन, विकास, सञ्चार लगायतका नीतिहरु ल्याइएको हो । नगरपालिकाले गत असार १० गते नै बजेट पेश गरेको थियो । 

, , , , ,