छोप्यो रोपाईको चटारोले

रूपक पुरी, मेलम्ची,असार १८ । 
मानो खाएर मुरी उब्जाउन सिन्धुपाल्चोकका किसान खेतीपातीको चटारोमा छन् । किसानहरू साँझ विहान नभनी धान रोप्न ब्यस्त छन् । जेठको अन्तिम साताबाट सुरू भएको रोपाई चटारोले यतिबेला सबैलाई छपक्कै छोपेको छ ।  
जिल्लामा बर्खे धानबाली लाग्ने क्षेत्र आठ हजार नौ सय ६१ हेक्टर छ । खोला नजिकका खेत मात्रै होईन पानी परेकाले टारी खेतमा समेत धमाधम रोपाई भईरहेको छ । तीन हजार दुई सय ६९ हेक्टरमा बर्खे र हिउँदे दुबै धानबाली लाग्छ ।
हिउँदे धानबाली पाक्ने क्रममा रहेकाले यसमा भने असारको अन्तिम साताबाट मात्रै रोपाई सुरू हुने मेलम्ची नगरपालिका कृषि शाखाका अमरनाथ आचार्यले जानकारी दिनुभयो । जिल्लाका फाँटमा खुमलचार, मकवानपुरे, हिमाली, ताईचिन लगाय उन्नत जातका धान बीउ लाग्दै आएको छ । स्थानिय जातका धान विउसमेत लाग्ने भए पनि उन्नत जातका विउले ढाक्दै गएको आचार्यले बताउनुभयो । तथ्यांक अनुसार गत बर्ष बर्खे धान उत्पादन जिल्लामा १९ हजार चार सय ६५ मेट्रिक टन थियो ।
जिल्लामा मकै , जौ, गहु, कोदो र फापर अन्न बाली उत्पादन भएपनि भाते सँस्कृति र मानिसहरूले भातै खाने बानीका कारण जिल्लामा खानको लागि चामल बाहिरबाट आयात हुने गरेको पाँचपोखरी थाङपाल गाउपालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले बताउनुभयो । साथै परम्परागत बाली लगाउनमा समेत कमि आएकाले परम्परागत बाली लोप हुने चिन्तासमेत गिरीले गर्नुभयो ।

, , , ,