नवलपुर प्राथमिक स्वास्थ्यचौकी अस्पतालमा परिणत हुदै

नवलपुर, असार ३० । 
इन्द्रावती गाउँपालिका नवलपुर स्थित नवलपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शैयाको प्राथमिक अस्पताल बनाइने भइएको छ । प्राथामिक स्वास्थ्य चौकिलाई अस्पतालमा परिणत हुने प्रक्रिया शुरु गरेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । 
पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार नवलपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल स्थापना गर्न लागिएको हो । वडा नं ४ मा रहेको उक्त स्वास्थ्य चौकीमा हाल प्राथमिक उपचार, प्रसुतीगृहमात्र हुने भएकाले स्थानीयवासी जटील उपचारका लागि धुलिखेल र काठमाण्डौका अस्पताल जानुपर्ने बाध्यता रहेको छ ।
सरकारले आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गर्ने गरी प्रक्रिया थालेपछि स्थानीयमा खुशीयाली छाएको पालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभएको छ । अस्पताल स्थापना हुने भएपछि यहाँका सबै स्थानीयवासी उत्साहित भएको उहाँले बताउनुभएको छ । सदरमुकामबाट २०  किलोमिटरको दूरीमा रहेको स्वास्थ्यचौकीमा आधारभूत तहको स्वास्थ्य सेवा पनि नहुँदा यहाँका बिरामीले वर्षाैँदेखि सास्ती भोग्दै आएका थिए । 
हाल गाउँपालिका भित्रका २८ हजार ५ सय सत्रजानाले यही स्वास्थ्यचौकीको भरमा रहनुपरेको छ । यहाँ निर्माण हुनलागेको १५ शैयाको प्राथमिक अस्पतालबाट आवश्यक भौतिक पूर्वाधार, आबश्यक चिकित्सकसहितको जनशक्ति, स्वास्थ्य उपकरणसहितको आधारभूत स्वास्थ्यसेवा प्रदान हुनेछन् ।

, ,