चौताराका उपप्राध्यापकहरुलाई एक दिने अनलाइन प्रशिक्षण

चौतारा,साउन १६ । 
कोभिड–१९ कोरोना कहरको कारणले विद्यार्थीहरुको अध्ययनकार्य अवरुद्ध भएको अवस्थामा चौतारा बहुमुखी क्याम्पसले क्याम्पसमा प्राध्यापनरत उपप्राध्यापकहरुलाई माइक्रोसफ्ट टिम्स प्रविधिमा आधारित एक दिने प्रशिक्षण कार्यक्रम कोरोना मापदण्ड पूरा गरेर आयोजना सम्पन्न गरेको छ ।



त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुरको आइटी विभागसँग समन्वय गरेर सञ्चालन भएको उक्त तालिममा केन्द्रिय क्याम्पस आइटी विभागका प्रमुख एवम् सहप्राध्यापक डा. श्री वेदप्रसाद ढकाल र केन्द्रिय क्याम्पस अंग्रेजी विभागका सहप्राध्यापक डा. श्री पूर्णबहादुर कडेलले दिनुभएको प्रशिक्षणमा क्याम्पसमा प्राध्यापन गर्नुहुुने उप्राध्यापक तथा दिनेश रामजी बहुप्राविधिकका कम्प्युटर इन्जिनियर र कृष्ण रत्नगंगा माध्यमिक विद्यालयका कम्प्युटर इन्जिनियर समेत सहभागी रहनुभएको थियो ।
प्रशिक्षण कार्यक्रम तीन चरणमा व्यवस्थापन गरिएको थियो । शुरुमा उद्घाटन सत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री कृष्णराज श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । अनलाइन शिक्षाको महत्वको बारेमा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री केशवलोचन शर्माले मन्तव्य दिने क्रममाउल्लेख गर्नु भयो । क्याम्पस प्रमुखश्री नगेन्द्रप्रसाद दंगालले तालिमको उद्देश्य माथि प्रकाश पार्नुभयो । 
प्रशिक्षकहरुले माइक्रोसफ्ट टिम्सबाट शिक्षण क्षेत्रमा पु¥याएको योगदान र फाइदाको बारेमा प्रस्तुत गर्नुहुँदै कसरी कक्षामा विद्यार्थीहरुलाई सहभागी गराउने, अभिलेख राख्ने र अनलाइन कक्षाको तालिका निर्माण तथा कक्षा सञ्चालन प्रक्रिया बारेमा स्पष्ट रुपमा प्रशिक्षित गर्नुभएको थियो ।
अब यस तालिमको उपयोग गरी क्याम्पसले अनलाइन कक्षा सञ्चालन र हप्ताको एक दिन क्लष्टरमा विद्यार्थीसँग फेस टु फेस कक्षा सञ्चालन हुनेछ ।
 क्याम्पसमा अध्ययनरत ४०० जना विद्यार्थीहरुलाई व्यक्तिगत कोड निर्माण गरी कक्षामा सहभागी गराउन सम्बद्ध व्यक्तिको रुपमा सहायक क्याम्पस प्रमुखलाई क्याम्पसले जिम्मेवारी तोकेको छ । हरेक विद्यार्थीले व्यक्तिगत कोड प्राप्त गरेपछि अनलाइन कक्षा क्याम्पसले तयार गरेको तालिका अनुसार विद्यार्थीहरुको अनुकूलतामा घरमै बसेर अध्ययन कार्य पूरा गर्नेछन् ।

, , ,