सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो


अर्जुन शर्मा, साउन २७, 

गत साउन २२ गते काठमाण्डौंको मनमोहन अस्पतालमा मृत्यु भएका बाह्रविसे नगरपालिका– ४ का एक पुरुषको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएसँगै कोरोना भाइरसका कारण सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बाह्रविसे नगरपाकिा– ४ का ८४ वर्षीया पुरुषको मृत्यु कोरोनाकै कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगालबार पुष्टि गरेको छ । उहाँको काठमाण्डौमा मृत्यु भएपछि अन्तिम दाहसंस्कारको लागि बाह्रविसे ल्याइएको थियो ।

गत २२ गते निधन भएका उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगालबार मात्रै कोरोना पुष्टि गरेको हो । शिक्षण अस्पतालमा उपचारका लागि जानु भएको उहाँको सुरुमा अस्पताल भर्ना गर्ने बेलामा पीसीआर परिक्षण गर्दा नेगेटीभ देखिएको थियो । बिरामिको स्वास्थ्यमा पुन समस्या आएपछि शिक्षण अस्पतालको मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको २२ गते मृत्यु भएपछि डाक्टरहरुले दुवै किड्नी फेल भएकाले मृत्यु भएको परिवारलाई जानकारी गराएपछि परिवारले अन्तिम संस्कारका लागि आफ्नै जन्मस्थान बाह्रविसे ल्याएको थियो ।

 उहाँको पार्थिव शरिरमा सयौं मलामीको उपस्थितीमा श्रद्धान्जली अर्पण गरिएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएको ६ दिन पछि कोरोना लागेर मृत्यु भएको प्रमाणित गरेपछि जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलन सक्ने सम्भावना बढेको छ ।

जसको कारण सिन्धुपाल्चोक जिल्ला  मंगलबार देखि नै पुरै त्रसित र चिन्तित भएको छ । ८४ बर्षिय बृद्धको मृत्यु कोराना करण भएको मन्त्रालयले  पुष्टि गरे पछि  बाह्रबिसे नगरपालिका नै सिल गरिएको छ ।  नगरपालिकाको उपप्रमुख सुशिला प्राखिनले एक बिज्ञप्ति जारी गर्दै बाह्रबिसे नगरपालिककाको वडा न २, ३,४, र ९ लाई सिल गरेको जानकारी दिनुभएको छ । नगरपालिकाले अर्को सुचना प्रकाशित नहुनजेलको लागि ति स्थानहरुमा हिडडुल समेत  नगर्न भनि सबै सेबाहरु बन्दगर्ने गरी सिल गरेको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयले सम्पुर्ण सम्पुर्ण जिल्लाबासिमा सर्तक रहन आग्रह समेत गरेको छ । 

यस्तै बाह्रविसे नगरपालिका ४ निवासी ८४  वर्षको एक पुरुषको मृत्युपछि कोरोना पोजेटीभ देखिएको र मृतकको मृत्युसंस्कार मा गएका र मृतकका परिवारको सम्र्पकमा गएका सबै जनालाई अर्काे सूचना जारी नभएसम्मका लागि आफ्नै घरमा सुरक्षीत रुपमा क्वारिन्टनमा बस्नको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुपाल्चोकले सबैमा अनुरोध समेत गरेको छ । यसै गरी चौताारा साँगाचोकगढी नगरपालिकाले पनि मृतकको सम्पर्कमा आएका सम्र्पुण नगरबासिलाई होम क्वारेन्टिनमा सुरक्षित रहन अनुरोध गरेको स्वास्थ्य शाखा प्रमुख शिब पुरीले जानकारी दिनुभयो ।  

यस्तै इन्द्रावती गाउँपालिका ७ सिपापोखरेका एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि ७ नम्बर वडा सिल गरिएको छ । सुर्खेत घर भई राजेश्वरीमा पढाउने ३१ वर्षीय शिक्षकमा कोरोना देखिएपछि वडा सिल गरिएको हो ।

सरकारले भदौ १ गतेदेखि विद्यालय खोल्ने बताए अनुरुप उहाँ १९ गते सिपापोखरे आउनुभएको थियो । अहिले उहाँको मेलम्ची नगरपालिकामा रहेको आइसोलसन वार्डमा उपचार भैरहेको छ ।

यसअघि नेपालमै पहिलो मृत्यु हुने सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ कि एक महिला र पाँचपोखरी थाङ्पाल गाँउपालिकाका एक पुरुषको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमित ७४ जना पुगेका छन् भने  ६९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

जिल्लामा पछिल्लो समयमा देखा परेका जुगल गाँउपालिका र शुनकोशी गाँउपालिकाका संक्रमण व्यक्तिहरुको सम्पर्कका आएकाको कन्ट्र्याक ट्रसिङ गरि गरिएको परिक्षणमा ११४ जनाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबारमात्रै चौतारामा बिभिन्न पालिकाका प्रमुख, उपप्रमुख सरकारी कार्यालयका कर्मचारी र संचारकर्मीहरुको गरी कोरोना परिक्षणको लागि १ सय ९ जनाको स्वाव संकलन गरिएको छ ।  


, , ,