सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारबाही गर्न पत्रकार महासंघको माग

लोकप्रिय समाचार, भदौ १४ । 

नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गर्नेलाई कारबाहीको माग गरेको छ ।


पत्रकार महासंघका महासचिव रमेश बिष्टले आईतबार एक विज्ञप्ति जारी गर्दै प्रेसपासको दुरुपयोग रोक्न महासंघले सम्बन्धित निकायहरुलाई आग्रह गरेको हो । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाको समयमा पछिल्लो समयमा सवारी साधनमा प्रेस लेखेर दुरुपयोग बढ्ेको भन्दै पत्रकार महासंघले कारबाहीको माग गरेको हो ।

महासंघले पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गरेको छ । साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन महासंघले आग्रह गरेको छ ।

प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई खबर गरेको र कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष माग गरेको उक्त बिज्ञप्तिमा भनिएको छ ।

, , , ,