नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली

काठमाडौँ, साउन १९ । 
नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आइतबार नेरेसो केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।
 मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त कोषाध्यक्ष, महामन्त्री र अध्यक्षले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार सुरू गर्नु भएको हो । पदभार ग्रहणपश्चात् अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताउनुभयो । साउन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी  संस्थाको साधारण सदस्य मध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भन्नुभयो ः “नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल हुनेछौं । आचारसंहिता उल्लंघनमा सुन्य शहनशीलता हुनेछ र  संस्थालाई सुद्धिकरण गरिने छ । ”
यस अघि नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र उच्च पदस्थ कर्मचारीहरूले तदर्थ समितिलाई केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको थियो । स्वागत तथा परिचय कार्यक्रममा नयाँ पदाधिकारी,सदस्यहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नियोग प्रमुख जेरम इम्स्टेफ, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल कार्यालयका कार्यवाहक प्रमुख हार्भे गजेउ र कर्मचारी तथा रेडक्रसकर्मीहरुको उपस्थिति रहेको रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
आइतबार नै नयाँ कार्यसमितिका महानुभावहरुले रेडक्रसको आचारसंहितामा हस्ताक्षर गर्नु भएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटीको परिचय, सञ्चालित कोभिड–१९ र बाढी पहिरो प्रतिकार्य सम्बन्धी नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी गराउनुभयो । कार्यसमितिको कार्यसञ्चालन सम्बन्धी मूल विषयहरुमा कार्यसमितिले आजै केहि प्रतिवद्धताहरुको लागि छलफल गरिरहेको छ ।

, ,