प्राकृतिक विपद् तथा स्थानीय सरकारको तयारी

राम शरण वि.क.
नेपाल बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिम पहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको मुलुक हो । 
बढ्दो जलवायु परिवतर्नका कारण पर्ने प्रतिकूल प्रभावबाट पनि विपद्को जोखिम झनै बढ्ने हुनाले नेपाल संवेदनशील अवस्थामा रहेको छ । नेपाल विश्वमा विपद् जोखिमको दृष्टिले उच्च जोखिममा रहेको छ र बाढी, पहिरो, भूकम्प, आगलागि, महामारी र जलवायू परिवर्तनको प्रभावबाट प्रभावित राष्ट्रको रुपमा पनि लिइन्छ। 
हाल हाम्रो देश प्राकृतिक विपद् कोरोना (कोभिड–१९) र बाढी,पहिरो तथा डुबानको कारण ठुलो जनधनको क्षेती व्यहोरीरहेको छ । नेपालमा १९२७३ जना संक्रमित भएका छन् भने५६ जनाको कोरोनाको कारण मृत्यु भई सकेकोछ (२०७७श्रावण १६ गते सम्म)। नेपाल सरकार गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा प्राधिकरणको तथ्यांक अनुसार पहिरोको कारण २०७७ वैशाख १ गते देखि श्रावण १३ गते सम्म १४० जनाको मृत्यु भएको छ ४५ जना वेपत्ता र १२६ जना घाइते भएको देखिन्छ । त्यसै गरी बाढीको कारण ६ जनाको मृत्यु, १३ जना वेपत्ता र ३ जना घाइते भएको देखिन्छ भने चट्टयाङको कारण४६ जनाको मृत्यु र १६१ जना घाइते भएको देखिन्छ । अत प्राकृतिक विपद्हरु कोरोना, पहिरो, बाढी तथा चट्टयाङका कारण वैशाख १ गते देखि हाल सम्म ६६२ जनाको मृत्यु भएको देखिन्छ । प्राकृतिक विपदीको यस्तो विकराल अवस्थामा तत्काल खोज, उद्धार, राहत तथा पुर्नस्थापना हुन नसक्दा नागरिकहरुले धेरै समस्याको सामना गरिरहनु परेको यतार्थ लुकेको छैन । सिन्धुपाल्चोकको कुरा गर्नु पर्दा वाह्रविसे नगरपालिकाको जम्वु पहिरोको कारण १६ घर बग्यो भने २ जनाको मृत्यु र २३ जना वेपत्ता भएका छन् । मेलम्ची खानेपानीमा टनेलको पानीको कारण २ जनाले ज्यान गुमाउनु पर्यो । अत्याधिक वर्षाको कारण अधिकांश क्षेत्रमा पहिरो गई धेरै घरहरु जोखिममा रहेको देखिन्छ । 
विपद् व्यवस्थापन भन्नाले विपद् पुर्व गरिने पुर्व तयारी, न्युनिकरण तथा रोकथाम, विपद्को समयमा गरिने खोज, उद्धार, राहत तथा विपद् पछि गरिने पुर्नस्थापना र पुर्ननिर्माणका क्रियाकलापहरु भन्ने बुझिन्छ । यति खेर केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार (गाउंपालिका तथा नगरपालिका) हरु आ–आफ्नो तौरतरिकाबाट विपद् व्यवस्थापनका क्रियाकलापहरु सञ्चालन गरि रहेका छन् । नेपाल सरकारले हाल लकडाउनको अन्त्य गरेकोछ । हाल उपत्यका तथा जिल्ला भित्र सार्वजनिक गाडीहरु पनि सञ्चालन गर्न दिएको अवस्था छ । जिल्ला भित्र मात्र सार्वजनिक गाडी चलेको भएता पनि नाकामा हिंडेर जानेहरको घुइँचो देखिन्छ । सार्वजनिक यातायातमा माक्स, स्यानिटाइजर तथा सिटमा वस्ने मापदण्ड तय भएको भएता पनि त्यसको पालन गरेको देखिदैन । बजार तथा शहरी क्षेत्रमा नागरिकहरुको घुइँचो हुन थालेको छ । त्यसका भौतिक दुरीको कायम हुन सकेको छैन । नागरिकहरुले माक्स लगाउन छाडेको देखिन्छ । 
जिल्लामा बाढी, पहिरोको जोखिम त्यति नै रहेको छ । वर्षा नरोकिए सम्म पहिरोको जोखिम उच्च रहेको छ । यस्तो अवस्थामा जति सक्दो चाँडो खोज, उद्धार तथा राहतको आवश्यक पर्दछ । तर जिल्ला विपद् व्यवस्थापन समिती, पालीका स्तरीय विपद् व्यवस्थापन समिती तथा सरकारी संघ संस्थाहरु अलमलमा परेको देखिन्छ ।वि.सं. २०७२ को भुकम्प पछि नेपाल सरकार तथा अन्तराष्ट्रिय समुदायको सहयोगमा राष्ट्रिय, क्षत्रिय तथा स्थानीय स्तरमा विपद् व्यवस्थापन सम्बन्धि धेरै तालिम, छलफल तथा वहसहरु हुने गरेको छ । केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तह स्तरमा विपद् व्यवस्थापन योजना निर्माणको लागि धेरै कार्यक्रमहरु सञ्चालन भईरहेकोछ । सिन्धुपाल्चोक जिल्लाको हकमा विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाको सहयोगमा नगरपालिका÷गाउंपालिका तथा वडा स्तरमा विपद् व्यवस्थापन योजना निर्माण कार्य भएको देखिन्छ । त्यसै गरी जिल्लाको मनसुन योजना तयार भएको छ । स्थानीय तहहरुले विपद् व्यवस्थापन आकस्मिक कोष स्थापना गरी परिचालन गरिरहेका छन् । वडा तथा पालीका स्तरमा प्राथमिक उपचार, खोज तथा उद्धार जस्ता कार्यदलहरु गठन गरेका छन् । निर्माण भएका योजनामा पुर्व तयारी योजना, विपद्को समयमा गरिने खोज तथा उद्धार, राहतका योजनाहरु तथा विपद् पश्चात गरिने पुर्नस्थापना तथा पुर्ननिर्माणको योजनाहरु समेटिएका हुन्छन् । विपद् व्यवस्थापन योजना तयार भएको भएता पनि त्यसको उचित प्रयोग भएको देखिदैन र जनप्रतिनिधहिरुले त्यसको सहि रुपमा आत्मसाथ गरेको पाइदैन । बनेका योजनाहरु सहयोगी संघ संस्थाहरु संगै रहेको पाइन्छ भने केहि वडा, नगरपालिका÷गाउंपालिकामा भएको भएता पनि कुनै दराजमा थन्केर वसेको देखिन्छ । नेपाल सरकार मार्फत तयारी योजना निर्माण कार्यविधि अनुसार तयारी भएको विपद् व्यवस्थापन योजनाले सवै पक्ष समेटिएका हुन्छन् तर त्यसको अध्ययनको कमीले कुनै विपद् परेको खण्डमा के कसरी काम गर्ने भन्ने अलमलमा पर्ने गरेको देखिन्छ ।
एकातिर स्थानीय तहहरुले विपद् व्यवस्थापनको लागि भनेर कोष मात्र छुट्टयाउने गरेको पाइन्छ तर कोष परिचालन कार्यविधि तयारी नहुँदा उक्त कोष कसरी सचालन गर्ने भन्ने अलमल देखिन्छ । अर्को तिर कोष छुट्टयाए पति त्यहि नै विपद् व्यवस्थापनको लागि काफी हुन्छ भन्ने बुझाइ रहेको देखिन्छ । तर पुर्व तयारी, क्षमता विकास, खोज तथा उद्धार, पुर्नस्थापन तथा पुर्ननिर्माणको लागि खासै कार्यक्रम तथा वजेटको व्यवस्था गरेको पाइदैन । पर्याप्त मात्रामा खोज तथा उद्धारको लागि सामाग्रि तथा प्राथमिक उपचारको लागि औषधीको व्यवस्था भएको देखिदैन । यसले गर्दा विपद् व्यवस्थापनमा समयमा प्रभावकारी रुपमा काम हुन सकेको देखिदैन । काम भइ हाले पनि ढिला हुने गरेको देखिन्छ । त्यसैले स्थानीय तहहरुले तयार भएका योजनाहरुको अध्ययन, समिक्षा तथा पुनरावलोकन गरी सोही अनुसार विपद् व्वयस्थापनका क्रियाकलापहरुको कार्यान्वयन गर्न सके समयमा प्रभावकारी रुपमा खोज, उद्धार, राहत, पुर्नस्थापना तथा पुर्ननिर्माणको कार्य हुन सक्ने देखिन्छ र सिन्धुपाल्चोक जिल्लाको हकमा तयार भएका विपद् व्यवस्थापन योजनाहरुको  कार्यान्वयनको लागि गाउंपालिका, नगरपालिका, वडा, गैरसरकारी संघ संस्थाहरु तथा सवै सरोकारवालाहरु सबैको ध्यान जान आवश्यक छ फलस्वरुप जनधनको क्षेति न्युनिकरण हुन सक्नेछ । (लेखक बिश्वकर्मा विपद् व्यवस्थापन श्रोत व्यक्ति हुनुहुन्छ । )

, , , , ,