लिदी पहिरो विस्थापितहरुलाई स्थानान्तरण शुरु

अर्जुन शर्मा,भदौ ६ । 

साउन ३० गते शुक्रबार ३९ जनाको ज्यान जने गरी जुगल गाँउपालिका वडा नं. २ लिदीमा गएको पहिरोमा परि बिस्थापित भएका परिवारहरुलाई स्थानान्तरण कार्य शुरु गरिएको छ ।

उक्त पहिरोमा १२ घर पुर्ण रुपमा क्षति भएको थियो भने २९ घरमा आंसिक क्षति क्षति पुगेको थियो भने हाल १३१ घरधुरी उच्च जोखिममा रहेका छन् । 

जिल्ला बिपत ब्यवस्थापन समितिको नेतुत्वकमा जनप्रतिनिधि सहितको टोली स्थलगत भ्रमण गरि स्थानीयसंग छलफल गरेर बस्तिको लगि ठाँउ तय गरेपछि बस्ति स्थानान्तरणको कार्य थालनी गरिएको हो ।

उक्त पहिरोमा परि बिस्थापित भएकाहरुको जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी भएको गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । उक्त पहिरोबाट बिस्थापित १७२ घरधुरी हरुको लागि तत्काल रुपमा टेन्टमा राख्ने तयारीका साथ अघि बढिरहेको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

अध्यक्ष श्रेष्ठ भन्नुभयो, हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरि तयारी भइरहेको र सबै परिवारलाई टेन्टमा राख्ने गरि आवश्यक सामाग्री आज ढुवानी गरिएको छ ।

लिदी बासिहरुको लागि २०७२ सालको महाभुकम्पमा पनि सोही स्थानमा राखिएको थियो । र हालपनि उपयुक्त ठाँउ सोही भएको सबैको निष्कर्ष बमोजिम नै सो स्थानमा स्थानान्तराण गर्न शुरु गरिएको जुगल गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप लामाले जानकारी दिनुभयो । तत्काल अस्थाइ रुपमा  सो स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो । लिदीबाट हाल स्थानान्तरण गर्न शुरु गरिएको जुगल गाउँपालिका वडा नं १ सेलाङको बाँसखर्कमा पुग्न बिस्तापित परिवारलाई पुरा १ दिन लाग्नेछ । 

उक्त बस्ति स्थानान्तरणको लागि बिभिन्न कार्यालयलाई भिन्न भिन्न जिम्मेवारी दिइएको छ । 

जसअनुसार जिल्ला विपल व्यवस्थापन समितिले आवस्यक टेन्ट उपलब्ध गराउने निर्णय बमोजिम शनिबार नै  ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । यस्तै  जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

यसैगरी जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने जिम्मेवारी रहेको छ । 

यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ भने रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । उक्त स्थानान्तरण गरिने क्षत्रमा आइतवार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रवन्ध मिलाउने तयारी रहेको छ ।


, , ,