मृतकको सम्पर्कमा आएका ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

अर्जुन शर्मा, साउन २८ ।  

सिन्धुपाल्चोक जिल्लाका तेस्रो मृतकको सम्पर्कमा आएका ५ जनाको नै कोरोना संक्रमण नभएको पृष्टि भएको छ । पुर्व सुचना तथा संञ्चार मन्त्री मोहन बहादुर बस्नेतको पिताको अन्तिम संस्कारका प्रत्यक्ष सहभागि भएका ४ जनाको कोरोना नेगेटिभ अर्थात कोरोना नभएको पाइएको छ । 

नेपाली काङ्ग्रेसका क्षत्रिय सभापति समेत रहनु भएका बालकृष्ण बस्नेत, नेपालि काङ्ग्रेसका नेता युधिर पौडेल, ज्ञानेन्द्र थापा, बासु बस्नेत र सुजित बस्नेतको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उहाँहरुको काठमाडौँँमा स्वाव संकलन गरिएको छ । 

मृतकको सम्पर्कमा आएका अन्यको बुधबार स्वाब संकलन गरि परिक्षणको लागि काठमार्डौ पठाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणको त्रास केहि मात्रामा घटेको छ । 

गत २२ गते निधन भएको सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंं ४ का ८४ बर्षिय पुरुषको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै कोरोना पुष्टि गरेको थियो । हाल बाह्रबिसे नगरपालिकाको ४ नंं. वडा सिल नै रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४८४ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।विगत २४ घण्टामा १० हजार ४८१ जनाको पिसिआर परीक्षण गर्दा ४८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो  । यो सँगै नेपालभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।

बुधबारमात्रै उपत्यकामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १०९ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको उहाँले बताउनुभयो । 

पछिल्लो समय कोरोना भाइरस मुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार ७२८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार ६१३ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । निधन हुनेमा धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

, , , ,