लिदी पहिरोमा बेपत्ता ६ जनाको शव अब खोजी नगरिने

अर्जुन शर्मा,भदौ १२ । 

साउन ३० गते शुक्रबार जुगल गाउँपालिका २ लिदी मा गएको पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनाको शव अब खोजि नगरिने भएको छ । 


गत साउन गएको पहिरोमा परि ३९ जना बेपत्ता भएका थिए । पुरिएकामध्ये ३३ जनाको शव फेला परेको र अन्य ६ जनाको खोजि कार्य अब नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । 

उक्त पहिरोमा परि  हालसम्म बेपत्ता हुनेहरुको सोही वडाका ४८ वर्षिया सोमरानी दोङ, २४ वर्षीया साइली दोङ, ८ वर्षीया प्रिया दोङ, २५ वर्षीय प्रकाश दोङ, दुई वर्षीय बालक आयुष दोङ र वडा नम्बर ३ का १७ वर्षीया सुवास दोङ रहेका सुचना अधिकारी काफ्लेले बताउनुभयो ।

बिहिबार बेलुकी सम्म पनि स्काभेटरले शवको खोजि गर्दा समेत बेपत्ताको शव नभेटिएपछि बेपत्ता परिवारले सहमति जनाएपछि उनिहरुको शव खोजि कार्य रोकिएको काफ्लेले बताउनुभयो । 

उक्त स्थानमा पहिरो गएको  बिहीबारसम्म १४ दिन पुगेको छ । पहिरो गएको दिनदेखी नै उनिहरुको शव खोजि गर्न शुरु गरिएको थियो । 

पहिरोमा पुरिएकाको खोजी गर्न प्रहरी, सशस्त्र प्रहरी र सेना गरी ८० जना सुरक्षाकर्मीहरू खटिएका थिए तर उनिहरुले बेपत्ता भएका ६ जना नभेटिएपछि प्रहरीले त्यहाँ बुधबार स्काभेटर पठाएको थियो तर स्काभेटरको प्रयोगले पनि बेपत्ता नभेटिएपछि खोजि कार्य रोकिएको हो । उक्त पहिरोबाट जोखिममा रहेको परिवारलाई जुगल गाँउपालिका वडा नं. १ बाँसखर्कमा अस्थाइ रुपमा स्थानान्तरण गरिएको छ । 


, , ,