सिन्धुपाल्चोकमा एकैदिन ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९१ पुग्यो

अर्जुन शर्मा, चौतारा, भदौ ८ । 

सिन्धुपाल्चोक जिल्लामा सोमबार मात्रै थप पाँच जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

 सोमबार मात्रै ४ पुरष र १ महिला सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभएको छ । योसँगै जिल्लामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारका  संक्रमित ५ जना मध्ये ३ जना चौतारामा रहेको एक गैरसरकारी संस्थामा कार्यरत कर्मचारी रहेका छन् भने २ जना काठमाडौमा बसेबास गर्ने रहेका छन् । 

गत साता सोही स्थानिय गैह्र सरकारी संस्थाका चार जना संक्रमण पुष्टि भएको थियो । दुई साता अघि चितवनमा एक कार्यक्रममा सहभागी भएर फर्किएका चार जनाको सम्पर्कमा आएका ५८ जनाको कन्ट्रयाक ट्रेसिङमा एकै कार्यालयका तीन पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारि दिनुभयो ।

गैरसरकारी संस्थामा कार्यरत चार जना कृषि प्राविधिकहरु १४ दिने तालिममा सहभागी हुन चितवन गएका थिए । उहाँहरु सबैमा कोरोना संक्रमण पुष्टि भएपछि  कार्यालय भवन नै शिल गरिएको थियो ।

यस्तै काठमाडौमा पुष्टि भएका २ जनामा चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १२ का १ पुरुष र भोटेकोशि गाँउपालिका वडा नं. ४ कि १ महिला रहेका छन्  । उहाँहरुको रिपोर्ट सोमबार दिउँसो आएको हो । काठमाडौँमा कोरोना पुष्टि भएका पुरुष काठमाडौमा नै कार्यरत प्रहरी रहेका छन् भने अर्को महिला भने उपचारको लागि यसै साता बिर अस्पतालमा भर्ना हुनुभएको थियो । 

सिन्धुपाल्चोक जिल्लामा  ९१ जनालाई कोरोना पुष्टि भएकोमा हालसम्म ७४ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने जिल्लामा ३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । यस्तै  जिल्लाभरमा १५७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । संक्रमित ७४ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारि कृष्णराज तिवारीले जानकारि दिनुभयो । जिल्लामा हालसम्म २ हजार ८ सय २२ को पिसिआर परिक्षण गरिएको समेत उहाँले बताउनुभएको छ । यस्तै हाल ५ जना आईसोलेसनमा उपचाररत रहेका छन् भने २६ जना क्वारेन्टाइनमा रहेको तिवारीले वताउनुभयो ।

यस्तै सोमबार नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार  यो सँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ ।  पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका १ जना, रुपन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना रहेका छन् । थप ८ जनाको मृत्युसँगै जम्मा मृत्यु हुनेको संख्या नेपालमा १ सय ५७ जुगेको छ ।  


, ,