रासस, भदौ १५ ।
मेलम्ची खानेपानी आयोजनाका सबै समस्या समाधान गर्न र मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरणपश्चात् लेभी निर्धारण र अन्य विविध समस्या समाधानका निम्ति सरोकारका बिषय समेट्दै सांसद शेरबहादुर तामाङको संयोजनमा भर्चुअल बैठक सम्पन्न भएको छ ।
पूर्व कानुनमन्त्री तामाङको संयोजकत्वमा मेलम्ची खानेपानी लेबी निर्धारण संयोजन तथा वार्ता समिति गठन गर्दै उक्त बैठक सम्पन्न भएको हो । मेलम्ची खानेपानी आयोजनाको पहिलो र दोश्रो चरणको आयोजनामार्फत पानी काठमाडौँ पथान्तरणपश्चात् स्थानीय जनतालाई लेबी दिनुपर्ने र त्यसका निम्ति सबै एकमत रहनुपर्ने र उक्त क्षेत्रमा विकासका निम्ति राज्यले अनुदान दिनुपर्ने, आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने तथा नाफाको बाँडफाँड नभइ निश्चित लेबी दीर्घकालिनरुपमा दिनुपर्नेलगायत एजेन्डामा सबै सहभागीको साझा धारणा रहेको सांसद तमाङले जानकारी दिनुभयो ।
उक्त बैठकमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची सबैको साझा बिषय रहेकाले सामूहिकरुपमा अगाडि बढ्दा समस्या समाधानका निम्ति वातावरण सहज हुने बताउनुभयो । सो छलफलमा उपस्थित सबैले एकतावद्धरुपमा अगाडि बढ्दा मात्र उपलब्धि हासिल हुने भन्दै स्थानियका मागका सबालमा जस्तोसुकै चूनौती सामना गर्नुपरे पनि तयार रहनुपर्नेमा सम्पुर्ण सहभागीले जोड दिनुभयो ।
सो समिति सदस्यमा सामाजिक विकासमन्त्री दुलाल, पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य लारक्याल लामा, दावा तामाङ, डोल्मा तामाङ, चलनबहादुर तामाङ, प्रदेशसभा सदस्य द्वय निमा लामा र इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङ, हेलम्बु गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पा, पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासी लामा ह्योल्मो, इन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ, बुद्धिजिवी हस्त पण्डित, जिमि लामा, उदय सापकोटा, कानूनविद् बालकृष्ण देउजा, सरोकार समिति ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष उपेन्द्र तामाङ, इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समिति अध्यक्ष विष्णुमणी आचार्य, ह्योल्मो खानेपानी सरोकार समितिका अध्यक्ष भालु शेर्पा, राजनीतिक दलका तर्फबाट नेकपा क्षेत्रीय कमिटी अध्यक्ष मित्रलाल चौलागाईं, नेपाली काँग्रेस क्षेत्रिय सभापति आईतमान तामाङ र राप्रपा क्षेत्रीय अध्यक्ष फणीन्द्र दाहाल रहेका छन् ।