सिन्धुपाल्चोकलाई चीनको न्यालमले दियो अत्यावश्यक स्वास्थ्य सामग्री

रुपक पुरी, साउन २८ । 

कोरोना महामारीको समयमा चिनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठुलो मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

बुधबार मितेरी पुलमा न्यालम बन्दरगाहका उप निर्देशक साङबुले तातोपानी भन्सार प्रमुख लाल बहादुर खत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । 

न्यालमले पीपीई सेट २८ सय, डिस्पोजल मेडिकल ह्याट ५ हजार पीस, मेडिकल आइसोलेसन सुज कभर ५ हजार थान, गगल्स ३ हजार, आइसोलेसन मास्क २ हजार पीस, एन नाइन्टिन फाइभ मास्क २ हजार पीस, पिसिआर टेस्ट रिजेन्टस २ हजार थान, पिसिआर टेष्ट स्वाब २ हजार र डिस्पोजल मेडिकल मास्क ५ हजार पीस सहयोग गरेको प्रमुख खत्रीले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो  ।

यो सँगैं न्यालमले सिन्धुपाल्चोकलाई तेस्रो पटक स्वास्थ्य सामग्री सहयोग गरेको हो । यसअघि दुई पटक न्यालमले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको विषेश पहलमा न्यालमले सिन्धुपाल्चोकलाई यी स्वास्थ्य सामग्री दिएको हो ।

यी स्वास्थ्य सामग्री जिल्लामा अत्यावश्यक परेका स्थानीय तह र स्वास्थ्य संस्थालाई दिने सिडियो ढकालले जानकारी दिनुभयो  । मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रकृया पुरा गर्न र त्यसलाई निर्मलीकरण गर्न समेत एकदुई दिन लाग्नेछ ।

त्यसपछि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा जिल्लामा आवश्यक परेको ठाँउमा तुरुन्तै ती सामग्रीको परिचालन गरिनेछ ।


, , , , ,