जिल्ला उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी हवल्दार कुमाललाई

 

चौतारा,भदौ ६ । 

साउन महिनाको सर्वोत्कृष्ट जिल्ला प्रहरीमा ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी हवल्दार मीन बहादुर कुमाल छनोट हुनुभएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधब काफ्लेले जानकारी दिनुभएको छ । 

मेलम्चीका प्रहरी हवल्दार कुमाललाई सिन्धुपाल्चोक प्रहरिले आज एक कार्याक्रम बिच नगद सहित सम्मान गरेको हो । गत साउन १९ गते मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरो जाँदा उद्दार गर्दा उल्लेखनीय भूमिका निर्वाह गर्दै उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै शनिबार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले उहाँलाई नगद सहित प्रमाणपत्रले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधब काफ्लेले जानकारी दिनुभएको छ । 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरीको टोलिले पहिरोमा पुरिएका ८ जनाको शव निकालिएको थियो भने १ जना ४५ बर्षिय बारु साहलाई जिवितै उद्दार गरि थप उपचारको लागि काठमाडौ पठाइएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल, साहस र हौसलालाई अभिबृद्धि गर्न र प्रत्येक प्रहरी कर्मचारीहरुलाई रचनात्मक कार्य तर्फ स्वःउत्प्रेरीत गरी उत्कृष्ट कार्य सम्पादनको लागि स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अभिप्रायले बागमति प्रदेश प्रहरी कार्यालयले गत असार महिनामा उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई हरेक महिना पुरस्कृत गर्ने कार्यको थालनी गरेको थियो । 


, , ,