लिदीका पहिरो पीडितहरूलाई राप्रपाको नगद सहयोग

अर्जुन शर्मा, चौतारा, भदौ ११ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकले जुगल गाउँपालिका वडा नं. २, लिदीका पहिरो पीडितहरूलाई बिहीबार नगद सहयोग गरेको छ ।

पहिरोले बिचल्नी बनाएपछि जुगल गाँउपालिका वडा नं. १ बाँसखर्कमा अस्थायी आवास गरिरहेका पहिरो बिस्थापितलाइ पिडीतको अाँगनमा नै पुगेर पार्टीले नगद सहयोग वितरण गरेको हो ।

राप्रपाका केन्द्रीय सदस्यहरू रमेश लामा र उदय सापकोटा, राप्रपा निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङको नेतृत्वमा पुगेको टोलिले पिडितलाई नै भेटेर नगद सहयोग गर्नुभएको हो ।

उक्त रकम बितरण कार्यक्रमा जिल्ला समन्वय समितिक प्रमुख कृष्ण गोपाल तामाङ समेत पुग्नुभएको थियो ।  

बिहिबार जुगल १ बाँसखर्कमा पुगेको राप्रपा सिन्धुपाल्चोकले पहिरोमा परि आफ्नो परिवारको सदस्य गुमाएको १२ परिवारलाइ प्रति परिवार १२ हजार, पहिरोमा परि घर पुर्ण क्षती भएको १८ परिवारलाई  प्रति परिवार ६ हजारका र  घर जोखीममा परेर स्थानान्तरण हुन पुगेका १२७ परिवालाई २ हजारका दरले जम्मा ५ लाख ६ हजार नगद सहयोग गरेको राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

लिदीवासीको पीडालाई सानो सहयोग हुने गरि राहत स्वरूप अन्य सामाग्री भन्दा रकम नै  हस्तान्तरण गरिएको राप्रपाका नेता तथा ठकुरी समाजका केन्द्रिय अध्यक्ष  दईन्द्रबहादुर ठकुरीले बताउनुभयो । 

राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताबाट स्वेच्छीक रुपमा संकलन गरिएको उक्त सहयोग रकममा ठकुरी समाज सिन्धुपाल्चोकले समेत ५० हजार सहयोग गरेको थियो । 

राप्रपाका केन्द्रिय अध्यक्ष पशुपति शमसेर राणालले आफु भौतिक रुपमा उपस्थिति हुन नसकेपनि बाढि पहिरोले गरेको क्षतिको समाचारले आफु निकै दुःखी बनाएको भन्दै सुभकामना सन्देश मार्फत पिडीत बाँसिहरुलाइ सम्झना पठाउनुभएको थियो । उहाँले पठाउनु भएको शुभमाना सन्देशमा आफु यस दुःखद घडिमा उपस्थित हुन नसकेपनि तीन दशक अघि लिदी पुगेको स्मरण गरिरहेको र आफुहरु जनताको दुःखमा सँधै साथ रहेको पनि उल्लेख गर्नुभएको छ ।

उक्त नगद बितरण कार्यक्रममा  जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ  कोषाध्यक्ष कृष्ण गिरी, राप्रपा नेता दईन्द्रबहादुर ठकुरी, जिल्ला सदस्य नारायण जंग पाण्डे, क्षेत्रीय अध्यक्ष शिव भण्डारी, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष निलध्वज थापा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष दिपेन्द्र थापा लगायत पार्टीका जिल्ला र क्षेत्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

राप्रपा राहत समितिले संकलन गरेको राहत यसअघि पनि बाह्रविसे नगरपालिकाको जम्बु र भोटेकोशी गाँउपालिकाका विभिन्न स्थानका बाढी तथा पहिरो पिडीतहरुलाई करिब ७ लाख नगद तथा खाद्यान्न समेत सहयोग गरिसकेको  राप्रपाका केन्द्रिय सदस्य बाबुराम खडकाले जानकारी दिनुभयो ।

लिदी पहिरोले बिस्थापित बनाएका १७२ घरधुरीको लागि उक्त सेलाङ बाँसखर्कमामा अस्थाइ रुपमा स्थानान्तरण गरिएको छ । उक्त पहिरोमा परि बेपत्ता भएका ३९ जनामध्ये ३३ जनाको शव भेटिएको छ भने अझै ६ जना बेपत्ता नै रहेका छन् । 

अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

, , , , ,