आर्थिक प्रलोभनमा पर्ने २ जना प्रहरीलाई निलम्बन

लोकप्रिय समाचार, साउन ३२ ।

आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने २ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरीएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । 

बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंग रकम लिएको भन्ने उजुरीको आधारमा निजहरु प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरीएको हो । निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेकको बागमती प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिती गठन गरेको छ ।  आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा संचालन गरीरहेको उपरीक्षक गिरीले बताउनुभएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको समेत उहाँले जानकारी दिनुभयो ।

 सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित १३ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन । 

यस्तै बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीहरु सबैले संक्रमण जोखीमलाई कम गर्न भाद्र १ गते देखी फेस सिल्ड लगाएर डियुटी गर्ने व्यवस्था मिलाईएको छ । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण गरीसकेको  प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभएको छ । 

 सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र “बागमती प्रदेश प्रहरी” लेखीएको छ । 

बिभिन्न प्रहरी ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले संक्रमणलाई थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले हरेक प्रहरी कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराई डियुटीमा बस्दा मास्क, फेस सिल्ड लगाई डियुटी गर्न निर्देशन समेत दिनुभएको छ । 

प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखीमलाई न्युनिकरण गर्न पक्राउ परेका ब्यक्तिहरुका साथै संक्रमण जोखिममा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनिवार्य पिसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको छ भने प्रहरी कर्मचारीहरुलाई समेत समुह समुहमा बिभाजन गरी बस्ने, खाने र डियुटी गर्ने व्यवस्था मिलाईएको छ । 

, , , ,