मालपोत कार्यालयमा १ स्थानिय तहलाई २ दिन पालो

चौतारा,भदौ ३१ ।

मालपोत कार्यालय, सिन्धुपाल्चोकले असोज १ गते अर्थात बिहिबारबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।

कार्यालय संचालन गरिएतापनि सेवाग्राहीहरुले भने पालो कुर्नु पर्ने भएको छ । जिल्लाभरीका सेवाग्राही एकैपटक कार्यालयमा आँउदा भिडभाड हुनसक्ने भएकोले पालैपालो काम गर्ने गरी कार्यालय सञ्चालन गर्न लागिएको कार्यालयका प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोइरालाले जानकारी दिनुभएको छ । 

कार्यालयले बुधबार एक सुचना जारी गर्दै मालपोत कार्यालयमा कामको लागि एक स्थानिय तहका सेवाग्राहिहरुलाई २ दिन मात्रै सञ्चालन गरिने बताएको छ । 

नयाँ तालिका अनुसार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासहित पाँचपोखरी थाङपाल गाँउपालिका, हेलम्बु गाँउपालिका र इन्द्रावती गाँउपालिकाका सेवाग्राहीले आइतबार र सोमबार मात्रै मालपोत कार्यालयको सेवा पाउनेछन् । यस्तै बाह्रविसे नगरपालिका, भोटेकोशी गाँउपालिका, त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिकाका सेवाग्राहीको सेवा भने मंगलबार र बुधबार सेवा पाँउनेछन्  । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका, जुगल गाँउपालिका, सुनकोशी गाँउपालिका र बलेफी गाँउपालिकाको सेवाग्राहीले भने बिहीबार र शुक्रबार मात्रै सेवा पाउनेछन् ।

, ,