सिन्धुपाल्चोकमा ६ रेक्टरको परकम्प, भूकम्पका कारण थप पहिरोको त्रास

अर्जुन शर्मा,चौतारा,भदौ ३१ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ ।


 बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बुधबार बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ  आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

सो भूकम्पका कारण सिन्धुबासिमा पहिरो जाने सन्त्रास बढेको छ । भूकम्पले जमिन हल्लाएपछि धाँजा फाटेर पहिरो जाने सन्त्रास बढेको स्थानियहरुले बताएका छन् ।

बुधबार बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएपछि त्यसले थप पहिरो जान सक्ने चिन्ता निम्त्याएको छ । सिन्धुपाल्चोक जिल्लाले पछिल्लो सात वर्षदेखि लगातार विपत्ति खेपिरहेको छ । यो बर्षमात्र जम्बु, खागदल, लिदी, मेलम्ची, बरुवा र धुम्थाङमा विभिन्न समयमा आएको बाढीपहिरोबाट ७४ ले ज्यान गुमाका छन् । पहिरो जानुका कारण भूकम्पले जमिन धाँजा फाटेको भूगर्भविदहरुले जनाएपछि बुधबार आएको भूकम्पले सन्त्रास पैदा भएको स्थानीयहरुले बताएकाछन् ।

इन्द्रावती, सुनकोशी र भोटेकोशी करिडोरवासीका लागि हरेक बर्ष दुख, पीडा र त्रासमा बित्ने गर्दछ । बाढी पहिरालेले बस्तीहरुलाई बर्सेनी बगरमा परिणत् मात्र गरेको छैन, कति बेला कुन बस्ती बगाउँछ भन्ने भरोसासमेत नभएको स्थानीय हेमबहादुर श्रेष्ठले गुनासो गर्नुभएको छ ।



, , ,