निन्द्रा नपाएको सिन्धुपाल्चोक

ठाकुरराम चौलागाई

बिहान सबैरै करिब ५ बजेको थियो । फोनमा घन्टी बज्यो सर तपाई सन्चै हुनुहुन्छ आजको पहिरो गएको स्थानबाट तपाईको घर कति टाढा पर्छ । 


म फेरी झस्किएँ सिन्धुपाल्चोकमा फेरी पहिरो भनि मोबाइल खोली हेर्दा त बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा पहिरो करिब ३० जना बेपता, १८ घरमा क्षति, जुगल ५ मा पहिरो करिब ३ घर क्षति यी र यस्ता समाचार मेरो लागी नौलो बनिरहेको छैन गत श्रावण ३० गते जुगल गा पा वडा नं. २ लिदिमा पहिरो जाँदा ३७ जना बेपता, श्रावण १९ गते मेलम्ची नगरपालिका ११ मा पहिरोले ८ जनाको मृत्यू, सोही दिन पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. २ बरुवामा पहिरोले २ को मृत्यू, असार २४ गते बाह्रबिसे जम्बु पहिरोमा २३ जना बेपता यसरी हेर्दा यस वर्ष मात्र पहिरोबाट सिन्धुपाल्चोक जिल्लामा मृत्यू हुनेको संख्या करिब १०० जना भन्दा बढीको तथ्यांक देखिन्छ । गत २०७१ श्रावण १७ को जुरे पहिरोमा १४५ जनाको मृत्यू भएको थियो । सोही बमोजिमको ठूलो मात्रामा धन जनको क्षति पनि भएको छ ।

के अब सधै सिन्धुपाल्चोकले निन्द्रा गुमाउनु पर्ने हो ? विपद पछिको तत्काल उद्दार र राहत कार्य नै हो सो को लागी सिन्धुपाल्चोकका जनप्रतिनिधि र विपद व्यवस्थापन समितिले कार्य गरेको देखिन्छ । तथापि पनि विपद अगाडिको कार्यमा स्थानिय जनताले यहाँ जोखिम भयो तत्काल अन्यत्र बासस्थानको व्यवस्था गर्नु पर्यो रातभर सुत्न पाइरहेका छैनौ भनि निवेदन गर्दा समेत मौन रहेका कारण विपदका घटनामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

यस जिल्लाका १२ वटै स्थानिय तहका करिब २० स्थानमा पहिरोको जोखिम रहेको भनि स्थानियहरुले सम्बन्धित स्थानिय तह र जिल्ला विपद व्यवस्थापन समिति संग गुहार मागिरहेका छन् । कतिपय स्थानिय तहले चासो देखाए त कतिले देखाएको पाँइदैन ।  

जिल्लामा विपद व्यवस्थापन सम्बन्धी कार्यको लागी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, स्वास्थ्य कार्यालयको प्रमुख, सुरक्षा निकायको प्रमुख, लगायतको एक समिति गठन हुनेछ । सो समितिले  के विपद पहि उद्दार र राहतको मात्र कार्य गर्ने हो, जिल्लाको विपद् प्रतिकार्य योजना तयार गर्नु पर्दैन, विपद हुन सक्ने स्थानको खोजी गरी विपद आउन नदिन योजना बनाउनु पर्दैन । विपद व्यवस्थापन समितिले तत्काल कुन स्थानमा पहिरो जान सक्छ सो को वैज्ञानिक अनुसन्धान गरी, योजना निर्माण गनुपर्ने आवश्यकता छैन ।

विपद पूर्व सूचना दिएर त आँउदैन तर सम्भावित जोखिमको पहिचान गरेर त्यस क्षेत्रको मानिसलाई स्थानान्तरण त गर्न सकिन्छ नि, खै तयातातिर विपद व्यवस्थापन समितिको ध्यान पुगेको । खै यस जिल्लामा मन्त्रि, सभामुखको ध्यान पुगेको । पटकैपिच्छै दोहोरिने मानविय र भौतिक क्षती न्यूनिकरण गर्न न योजना बनाएको देखिन्छ, न जोखिमयुक्त स्थानबाट बस्ती स्थानान्तरणमै ध्यान पुगेको छ ।

जोखिम पहिचान गरी बस्ति स्थानान्तरणमा कहि कतै केहि पनि गरेको देखिदैन २०७२ को विनाशकारी भूकम्पले थिलथिलाएको सिन्धुपाल्चोकमा लाई विपद बाट बच्न अवसर पनि प्राप्त भएको थियो । भूकम्प पछिको बस्ति विकासको सुरुवाती चरणदेखि नै विपद् विज्ञ, स्थानिय तह, योजनाविद्हरुलाई सहभागी गराएर दिर्घकालीन बस्ति विकास योजना बनाउने अवसर थियो । यस तर्फ जिल्लाका जनप्रतिनिधि र विपद व्यवस्थापन समितिको ध्यान जान सकेन र हामी बारम्बर थप क्षति बेहोरीरहेका छौ । अब थप क्षति हुन नदिन सम्बन्धि पक्षको ध्यान जान जरुरी छ ।



, , ,