चन्द्रप्रसादलाई छन्द–साधना पुरस्कार

चौतारा, भदौ २३ । 

सिन्धुपाल्चोक फुल्पिङकोटका महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्द साधना पुरस्कार–२०७७’ प्रदान गरिने भएको छ । छन्द–तरंगले छन्द कविताका एक विशिष्ट साधकलाई प्रदान गर्दै आएको यो पुरस्कार यो वर्ष न्यौपानेलाई प्रदान गरिन लागिएको हो ।


न्यौपानेले शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य प्रकाशन गरेका छन् । यो नेपाली काव्य इतिहासको ठूलो पुस्तक हो । उनले १० महाकाव्य, १० खण्डकाव्यसमेत बजारमा ल्याइसकेका छन् ।

छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । कवि रामप्रसाद ज्ञवाली र देवी नेपालको सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा यो पुरस्कार २०७५ मा स्थापना गरिएको थियो ।

‘छन्द–तरङ्ग’ले हरेक महिनाको तेस्रो शुक्रबार फरक फरक पुस्ताका तीन कविका पाँच पाँच कविता प्रस्तुत गर्दै आएको छ ।

,