पहिराका कारण सेलाङका ८८ बढि घरपरिवार उच्च जोखिममा

रासस, असोज २ । 

भारी बर्षाका कारण जुगल गाउँपालिका १ सेलाङमा स्थानीयका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । 


पहिरोको क्षति मुल्यांकनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दा बढि स्थानीय पहिरोको जोखिममा परेको जुगल गाउँपालिका १ का वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

वडाध्यक्ष थापाका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिरोले घर गोठमा क्षति तथा स्थानीयलाई जोखिममा पारेको छ ।

बाँधसिम्ले गोठ पुरिँदा स्थानीय कमलबहादुर थापाको भैँसी समेत पुरिएको छ । कतै घर बग्न लागेका छन्, कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा स्थानीय पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्तसँगै घर नै जोखिममा परेको छ । काल्चेका ४ घर क्षति भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा ६ घर उच्च जोखिममा छन् । ३० भन्दा बढि घर परिवार बस्ने सेपगाउँ नै पहिरोको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि २ घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताउनुभयो । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन ।

पहिरोबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकोले उनीहरुलाई तत्कालका लागि गाउँपालिका बाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । संकटको अवस्थामा वडाभित्रका सरकारी भवन संचनामा बस्न स्थानीयलाई अनुरोध गरिएको थापाले बताउनुभयो । ‘तत्कालका लागि टेण्ट र त्रिपाल पठाएर सुरक्षित ठाउँमा बस्न भनेका छौँ, अप्ठ्यारो पर्दा सरकारी भवनमै बस्न अनुरोध भएको छ’, वडाध्यक्ष थापाले भन्नुभयो ।

, , ,