पहिरोबाट विस्थापितलाई एकद्वार प्रणालीबाट राहत बितरण शुरु

चौतारा, भदौ ३० । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको भिमखर्क र नाकबुच्चेमा शनिबार राति गएको पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले मंगलबार देखि एकद्वार प्रणालीबाट राहत वितरण गर्न शुरु गरेको छ ।


कोभिड १९ महामारीलाई ध्यानमा राखी विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त राहत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी एकद्वार प्रणालीबाट वितरण गरिएको नगरप्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । 

पहिरोमा घाइते तीन जनालाई पनि नगरपालिकाले निःशुल्क उपचार गराई रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट बिस्थापित परिवारलाई त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । पहिरोबाट २२ घर पूर्णरुपमा क्षति भएको छ भने ५८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरोमा बेपत्ता मध्ये हालसम्म १५ जनाको शव भेटिएको छ ।  खोजि गर्ने क्रममा मंगलबार थप १ जनाको शव फेला परेको छ । यो संगै सो पहिरोमा परि मृत्यु हुनेको संख्या १५ पुगेको हो । पहिरोमा अझै १७ जना बेपत्ता छन् ।  

भेटिएकाहरु मा २२ वर्षीय भक्तीमाया श्रेष्ठ, ९८ वर्षीय ल्याक्सी तामाङ, ६० वर्षीय सर्कीनी नेवार,  ६५ वर्षीय धनलाल नेवार, २३ वर्षीय जुनु बि.क., ८ वर्षीयसन्देश बि.क., २४ वर्षीय सुकलाल बि.क., ४२ वर्षीय ज्ञानी माया प्रधान,  ६० वर्षीय हिरा माया नेवार, ५ वर्षीय सरस्वती वि.क., २५ वर्षीय करण श्रेष्ठ, २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनीका बिक र ५३ वर्षीय सिंहबहादुर प्रधान र रविना श्रेष्ठ भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

भिमखर्कबाट झरेको करिब डेढ किलोमिटर लामो पहिरो नाकबुच्चेलाई लछार्दै भोटेकोशी नदीमा गएर टुङ्गिएको थियो । दुईवटा शवलाई नदीले बगाएको अवस्थामा फेला परेको हुँदा नदी छेउमा रहेको नाकबुच्चेका बेपत्तालाई पनि नदीले बगाएको आशंका गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।

बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तीन टोली बनाई बिहानैदेखि घरेलु औजारबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । मानिसबाट खोजी कार्य सम्भव नदेखिएपछि बिग्रेका सडक मर्मत गर्दै बुधबार बिहानबाट स्काभेटर लगेर शव खोज्ने तयारी रहेको  नगरपालिकाको जनाएको छ ।


, , , ,