सवै पक्ष मिलेर जिल्लाको विकासलाई सहि दिशातर्फ डोर्याउनु आवश्यक छः प्र.जि.अ. ढकाल

खोटाङ जिल्ला बुइपा गाउँपालिकामा मिति २०२९ साल साउन १६ गतेका दिन पिता यदुनाथ ढकाल र माता जीवकुमारी ढकालका सुपुत्रका रुपमा जन्मनु भएका बर्ष ४८ का प्रशासनका क्षेत्रमा कुशल र इमान्दार व्यक्तिका रुपमा देखिनु भएका श्री उमेश कुमार ढकाल मिती बिगत ८ महिना देखी हाल सम्म सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिइ कार्यरत हुनुहुन्छ । प्रस्तुत छ प्र.जि.अ.ढकालज्यू सँग लोकप्रिय समाचारका नेत्र बहादुर बस्नेतले गर्नु भएको कुराकानीको अशंः

१. सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनु भएको छ जिल्लाका बारेमा छोटकारीमा बताइदिनुहोस न  ?

खास गरि म मिती 2076/10/26  देखी सिन्धुपाल्चोक जिल्लामा आइ कार्यरत रहेको छु मैले समग्रमा हेर्दा सिन्धुपाल्चोक जिल्ला बिभिन्न जात, धर्म र संस्कारमा रहेका एक आपसमा मिलेर काम गर्न पर्छ भन्ने धाराणा बोकेका आफैमा चेतनशिलताको भावना बोकेका नागरिक रहेको पाएको छु ।

देशको राजधानी नजिक रहेको र विभिन्न अवसरवाट अझै वञ्चित रहेको कारणले विभिन्न असमानताहरुपनि विद्यमान छ । भौगोलिकरुपमा विकट र सुगम ठाउँहरु पनि छ  । प्राकृतिक स्रोतहरु प्रचुर रहेको । विशेषगरी तामाङ समुदाय अझैपनि शैक्षिक, सामाजिक, आर्थिकरुपमा पछि परेको देखिन्छ । वाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपवाट जिल्ला हरेक वर्ष प्रभावित हुने गरेको छ । साधनस्रोतको विषयमा राजनितिक कारणले कहिलेकाही शान्ति सुरक्षामा चुनौतीहरु आउने गरेको छ । 

२. हाल सम्मको जिल्लाको सु्रक्षाको अबस्था के रहेको छ ?

हाल सम्म सिन्धुपाल्चोक जिल्लाको सुरक्षा अबस्था सुदृढ देखिन्छ । केही स्थानमा छिटफुट घटना भएका हुन सक्छन । तर बिगतको घटनाहरु हेर्दा यस बर्ष त्यस्ता घटनामा कमि देखिन्छ । यस अर्थले सुरक्षाको स्थिति सिन्धुपाल्चोकमा सामान्य छ ।कोरोना नियन्त्रण, राहत, उद्दार र विकास निर्माणका कार्यहरुमा प्रर्याप्त सुरक्षाकर्मी परिचालन भएको स्थिती छ । जिल्ला सुरक्षा समितिले जिल्लाभित्र शान्ति सुरक्षा सामान्य वनाईराख्न  विभिन्न सुरक्षा रणनितीहरु अख्तियार गर्दै कार्यहरु अगाडी वढाइरहेको छ ।

 ३. बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सुरक्षा नितिमा कस्तो असर गरेको पाउँनु भयो ? 

यस बिषयमा मैले भनी रहन परेन यो महामारीका कारण सबैतिर प्रभाब पारेको छ । आर्थिक, प्रशासनिक सबै क्षेत्रमा असर पारिरहेको छ । भने सुरक्षा क्षेत्रमा झन असर नपर्ने त कुरै भएन ।यस्तो संक्रमण नियन्त्रणको लागी पुरै जिल्ला सुरक्षा समिति लागेको छ । एक किसिमले सुरक्षा निकायहरुको एउटा प्रमुख जिम्मेवारीको रुपमा कोरोना महामारी नियन्त्रणको काम भयो भन्दा हुन्छ। 

 ४. यसको रोकथाम तथा उपचारको लागि कसरी ब्यबस्थापन गर्न पर्ने देखिन्छ ?

संक्रमणलाई फैलन नदिन जनस्वास्थ्य विज्ञहरु निरन्तर छलफल र सल्लाह लिएर आवश्यक पर्ने विभिन्न कार्यहरु भईरहेको छ । सुरक्षा निकायहरु, स्वास्थ्यविज्ञहरु र स्थानीय तहहरुविचको एकता, सहकार्य, समन्वय एवं तदारुकता भएमा र त्यसमा सवै जनताको एवं सरोकारवाला निकायहरुको सहयोग भएमा यो नियन्त्रण गर्न सकिन्छ । 

५. हाम्रो देशमा प्रकृतिक बिपति परिरहेको पाइन्छ हालमात्र बाढी पहिरोले ठुलो क्षति गरेको छ । यस सम्बन्धमा  यँहाको धारणा के छ ?

यस सम्बन्धमा प्रकृतिक बिपती रोक्न त कसैले पनी सक्दैनन तर यसबाट सुरक्षित रहन र जोखिम न्युनीकरण गर्न भने सकिन्छ ।जनचेतना, पुर्वसूचना प्रणाली अवलम्बन, DRR लाई विकास प्रक्रियामा मुलप्रवाहीकरणमा ध्यान दिने र पुर्वतयारीलाई प्राथमिकतामा राख्ने हो भने जोखिम घटाउन सकिन्छ । 

विशेषगरी २०७२ सालको भुकम्पपछि यँहाका धेरै वस्तीहरु जोखिमपुर्ण भएका छन । समयमा नै जोखिम पहिचान गरी जोखिमयुक्त वस्तीहरुलाई जिविकोपार्जन सहितको दिगो स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । भोटेकोशी नदिका छेउछाउका वस्तीहरु अत्यन्त जोखिमपुर्ण रहेको छ । तसर्थ वाढीपहिरोवाट जोगाउने र जोगिने उपायहरु एवं विकल्पका वारेमा ध्यान दिनु आवश्यक छ । 

६. सिन्धुपाल्चोकका नागरिकले सुरक्षाका बारेमा कतिको सहयोग गरेका छन ?

राम्रो सहयोग छ । शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकको सहयोग आवश्यक छ ।हामी विभिन्न सुरक्षाका रणनितीहरु अख्तियार गर्दै सवैसँग समन्वय, सहकार्य गर्दै शान्ति सुरक्षालाई सामान्य वनाउने काम गरेका छौँ । प्रशासन र नागरिकविच नङ र मासु जस्तै सम्वन्ध हुन्छ तसर्थ नागरिकको सुरक्षा र सेवालाई प्रमुख दायित्वको रुपमा प्रशासनले लिएको हुन्छ ।

७. तपाइको भाबी रणनिती के छ? कसरी अगाडी बढ्ने योजना छ ?

जिल्लाम सुशासन कायम गर्ने, विकास निर्माणका कार्यहरुमा समन्वय गर्दै शान्ति सुरक्षा प्रदान गर्ने, स्थानीय तहहरुलाई उनीहरुको कार्यसम्पादनमा समन्वय र सहयोग गर्ने कामहरु भईरहेको छ । प्राकृतिक प्रकोपमा राहत उद्दारमा तदारुकताका साथ परिचालन भईरहेको स्थिति छ । खास गरी जोखिमपुर्ण वस्तीहरुको पहिचान र जिविकोपार्जन सहितको वस्ती स्थानान्तरण र विकास मेरा प्राथमिकतापूर्वक कार्यहरु हुन ।

 ८. हाल सम्म यँहाले के–के र कस्ता कामहरु गर्नुभयो र भबिष्यमा के योजना छ ?

कोरोना नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, विपद् व्यवस्थापन, सुशासन कायम गर्दै विकास निर्माणका कार्यहरु समन्वय सहयोगका कामहरुमा केन्द्रित भएर काम गरें । भविश्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, शान्ति सुरक्षालाई सृदृढ गर्ने एवं विकास निर्माण तथा कोरोना नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । 

९. अन्तमा यँहाको भनाइ के रहेको छ ?

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक स्रोत, नदिनाला, वनजंगल लगायतले भरिपुर्ण एवं सामाजिक समिश्रणले सुन्दर रहेको जिल्ला हो । सवै पक्ष मिलेर जिल्लाको विकासलाई सहि दिशातर्फ डोर्याउनु आवश्यक छ ।

तसर्थ यसको सहि सदुपयोग हुन सकेमा विकाशमा महत्वपुर्ण फड्को मार्न सक्छ । 


, , , ,