निजामति कर्मचारीको निर्वाचन नजिकिदै, यस्तो छ चुनावी जोडघटाउ

चौतारा, असोज १ । 

चौतारा । निजामति आधिकारिक ट्रेड युनियनको निर्वाचन नजिकिदै गएको छ । युनियनको निर्वाचन यही असोज २४ गतेलाइ तोकिएको छ ।


 सरकारी वकिल कार्यालयमा बिहिबार निर्वाचन कार्यालय स्थापना गरिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष शभ्मु पोखरेलले जानकारी दिनुभएको छ । सो निर्वाचनका लागि निर्वाचन अधिकृत जिल्ला न्याधिवक्ता कलानिधि पौडेल तोकिएका छन् ।  

निर्वाचन तालिका अनुसार असोज ६ गते मतदाता नामावली प्रकाशन गर्ने, असोज ११ गते मतदाता नामावली उपर दावी विरोध, असोज १३ गते अन्तिम मतदाता नामावली प्रकाशन, असोज १४ गते उम्मेदवारी दर्ता, असोज १५ उम्मेद्वारले नाम फिर्ता लिने, १५ गते उम्मेदवारको नाममा दावी विरोध गर्ने, असोज १६ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र असोज २४ गते मतदान हुने छ ।

यसअघिको युनियन निर्वाचनमा ६ सय बढी कर्मचारीले सहभागि भएका थिए भने अहिले करिब ४ सय मतदाता रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । आधिकारिक ट्रेड युनियनमा भाग लिन स्थायी कर्मचारी र कार्यालय सहयोगी देखि अधिकृत सम्मका कर्मचारी हुनुपर्नेछ । शाखा अधिकृत भएर कार्यालय प्रमुख वा कायममुकायम भएमा भने निर्वाचनमा भाग लिन पाउने छैनन् ।

यसअघिको निर्वाचनमा जिल्लामा तत्कालिन एमालेको निजामति कर्मचारी संगठनले अध्यक्ष, कोषाध्यक्ष र तीन सदस्य जितेको थियो । काँग्रेस निकट निजामति कर्मचारी यूनियनले उपाध्यक्ष र एक सदस्य जितेको थियो भने माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले भने एक सचिव र एक सदस्य जितेको थियो ।

अहिलेको निर्वाचनको माहोल भने फरक हुनेछ । पूर्व एमाले र पूर्व माओवादी मिलेपनि दुइ पार्टीको कर्मचारी समायोजन भने अझै हुन सकेको छैन् । त्यसको कारण जिल्लामा कर्मचारीको चुनावी सरगर्मी अझै बढ्ने देखिन्छ । स्रोतका अनुसार पूर्व माओवादी र पूर्व एमाले निकट कर्मचारी संगठनहरु आ आफै एकलै चुनावी मैदानमा जाने या मिलेर जाने अन्योलमा छन् । यदि उनीहरु छुट्टाछुट्टै चुनावी भिडन्तमा गए निजामति कर्मचारी यूनियनलाई फाइदा हुने देखिन्छ ।

, , ,