सरकारको हस्तक्षेपका कारण वर्गीकरणको नतिजा आएन : काउन्सिल

चौतारा, असोज ५ ।

प्रेस काउन्सिल नेपालले सरकारी हस्तक्षेपका कारण आर्थिक वर्ष २०७५÷०७६ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा निकाल्न नसकिएको जनाएको छ ।


 वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आ.व.२०७५÷२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको प्रष्ट पार्नुभएको छ । 

सरकारसँगको स्वायत्तताको लडाँइका कारण आफूहरूमाथि हस्तक्षेप भएको उहाँको भनाई छ, ‘स्वायत्तताको पक्षमा उभिएकै कारण कोरोना कहरका बीच पनि सारा प्रक्रिया पूरा गरिसकेर समयमा नै आ.व.२०७५÷२०७६ का पत्रपत्रिकाको नतिजा निकाल्ने कार्य सरकारी हस्तक्षेपका कारण पूरा गर्न नसकिएको तीतो यथार्थ तपाईँहरूसामु प्रष्ट राख्न चाहन्छु ।’ शुभकामना सन्देशमा भनिएको छ ।

प्रेस काउन्सिल नेपालले भोली मङ्गलबार ५१ औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवका कार्यक्रम अघिल्ला वर्ष राष्ट्रपति निवास शीतलनिवासमा हुँदै आएकोमा कोरोना कहरका कारण यसवर्ष केही पुरस्कार वितरणको कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा र बाँकी कार्यक्रम सञ्चारग्राम तिलगङ्गामा आयोजना गरिएको छ ।


,