जिल्ला बारको अधिवेशन असोज २४ मा हुने

चौतारा, असोज १ । 

जिल्लाका कानुन ब्यवसायीहरुको संगठन जिल्लाबार इकाईको १६ औं अधिवेशन र ३० औं साधारणसभा आगामी असोज २४ गते चौतारामा हुने भएको छ । विहिबार बार इकाईको कार्यालय चौतारामा बसेको बैठकले अधिवेशन र साधरण सभाको मिति तय गरेको हो । 

अधिबेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयनहुने बताईएको छ । हालका अध्यक्ष अधिवक्ता भेषराम ढकालले दोहोरिएर अध्यक्ष नबन्ने बताउनुभए संगै नेतृत्वका लागि दावी गर्ने क्रम समेत सुरु भएको बुझिएको छ । तर सदस्य संख्या थोरै भएकोले नेतृत्व चयनमा खासै समस्या नपर्ने इकाईका सदस्य अधिवक्ता शशिनाथ आचार्यले बताउनुभयो । जिल्लाबार इकाईमा हाल जम्मा १६ जना साधारण सदस्य रहेका छन् । यद्यपी अन्य पदमा खासै समस्या नभएपनि अध्यक्षमा दावी गर्नेको संख्याभने बढि नै रहेको छ । 

न्यायपलिका भित्र विकृति विसंगति बढ्दै गईरहेको सन्दर्भमा बारको भूमिका महत्वपूर्ण हुने गर्दछ । सर्वसाधारण नागरिकको न्यायमा पहुँच स्थापित गर्न र मानव अधिकारको रक्षाका लागि बारले लिने निर्णयले प्रभाव पार्ने हुनाले बारका गतिविधीलाई अर्थपूर्ण रुपमा हेरिन्छ । बार र अदालत एक अर्काका परिपूरक हुन् भन्दै बार इकाईका अध्यक्ष भेषराम ढकालले अदालतमा हुने सबै खाले गतिविधीमा बार वाचडगको भूमिकामा हुने बताउनुभयो । 

बार बैठकले विभिन्न प्रस्तावहरु परित गरेको बताइएको छ । बिहिबार बिहान झण्डै २ घण्टा लामो बैठकले नेपालको संविधान जारी भएको आगामी असोज ३ गते ५ वर्ष पुरा हुनलागेको सन्दर्भमा एक शुभकामना प्रस्ताव समेत पारित गरेको छ । उक्त पारित प्रस्तावमा भनिएको छ – नेपालको संविधानको मुलमर्म र भावनाको उच्च सम्मानगर्दै यसको सम्पूर्ण रुपमा कार्यन्वयन गर्न सरकार समक्ष अनुरोध गर्दछौं ।

साथै प्रस्तावमा संविधानले नागरिक सर्वोच्चता र विधीको शासनको पक्षमा गरेका कतिपय ब्यवस्था माथि हुने प्रहारहरुलाई राजनीतिक संरक्षणका आडमा ढाकछोप गर्ने प्रवृत्ति विद्यमान रहनु दुःखद् पक्ष भएको उल्लेख गरिएको छ । संविधान र कानुन विपरीतका कार्यलाई ढाकछोप गर्न राजनीतिक दवाब र हस्तक्षेप बन्द हुनुपर्ने बारको निष्कर्ष रहेको सचिव भुपेन्द्र बहादुर थिङले बताउनुभयो । छैटौं संविधान दिवशका अवसरमा सम्पूर्ण नागरिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं, बारद्वारा पारित प्रस्तावमा भनिएको छ । संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण, विधीको शासन, लोकतन्त्रका मूल्यमान्यता, संबैधानिक सर्वोच्चताको पक्षमा बार दृढ रहेको भन्दै प्रस्तावमा संविधानको पूर्ण कार्यन्वयन र परिपालना गर्न सरकारसंग माग गरिएको सचिव थिङको भनाई रहेको छ । यो वर्ष कोभिड १९ महामारीका कारण संविधान दिवशमा जिल्लामा कुनैपनि औपचारिक कार्यक्रम राखिएको जानकारी छैन । 

उक्त बैठकले जिल्लामा निरन्तर भइरहेका प्राकृतिक विपत्तिका घटनाप्रति चिन्ता पनि व्यक्त गरेको छ  । पछिल्लो समय बाह्रबिसे नगरपालिका स्थित घुम्थाङको नागबुजे र भीरखर्कको पहिरोले ठूलो धनजनको क्षतिप्रति बारले दुःख ब्यक्त गर्दै बेपत्ताको अझै तदारुकताका साथ खोजी गर्न सरकारसंग माग गरेको छ । विपद्मा परेकाहरुलाई बारले इकाईको तर्फबाट सहयोग गर्ने सम्बन्धमा छलफल भएको सो विषयमा आगामी २४ गतेको अधिवेशले निर्णय गर्ने बारको भनाई छ । यसअघि बारले जिल्लाका जुगलको लिदी, बाह्रबिसेको खागदल र जम्बु, मेलम्ची, पाँचपोखरी थाङ्पालको भोताङ लगायतका क्षेत्रमा गएको पहिरोमा परी मृत्यु भएकाहरु प्रति श्रदाञ्जली ब्यक्त गरिसकेको छ । बैठकले पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन प्रति दुःख ब्यक्त गरेको छ ।

, ,