२४ घण्टामा नै फेरि बन्द भयो तातोपानी नाका

रुपक पुरी, चौतारा, असोज २० । 

तीन महिनापछि खुलेको तातोपानी नाका आइतबार सामग्री लोड, अनलोड गरेर सोमबार सामग्री नेपाल भित्रिएपछि फेरि बन्द भएको छ ।


भन्सार सामाग्री लोडअनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नाका बन्द भएको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रमचन्द्र ढकालका अनुसार मजदुरलाई कोरोना पुष्टि भएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो । अधिकृत ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन ।

ती सामग्रीको डकुमेन्ट मिल्ने क्रम बाँकी छ । चीन बाट आएका अन्य थप सामग्री मितेरी पुल पारी नै भूईंमा थन्काइएको छ । लोड अनलोड गर्नेृलाई कोरोना पुष्टि भएकै कारण उक्त सामग्री भुईंमै अलपत्र छाडिएको हो । नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट निगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पु¥याउने योजना मुताविक दुवै देशको सहमतिमा नाका खुलेको हो । सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ । गएको असोज १३ गते सिन्धुपाल्चोकका उच्च सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएपछि नेपाल चीनबीचको प्रमुख भन्सार नाका खुलाइएको थियो ।

नजिकिँदो दसैं प्रभावित नहोस् भनेर चिनिया अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । तातोपानी भन्सारमा लोडअनलोड गर्ने ३६ मजदुरको पिसिआर परीक्षण गराउँदा नेपालको ल्याबले तीनजनाको पोजेटिभ देखाएको थियो ।

परीक्षण सर्टिफिकेट बोकेर लोडअनलोड गरिरहेका ३३ मजदुरको चिनियाँ क्षेत्रमा पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ देखियो । यसैलाई आधार मानेर चिनियाँ अधिकारीले आयातमा कडाइ गर्ने संकेत गरेका छन् । नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताए ।

तर, नाकालाई सुचारु राख्न गम्भिर रुपमा पहल भइरहेको उनले बताए । पिसिआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गर्ने खत्रीले बताए । खासाबाट चिनिया ड्राइभरले सिधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उनले बताए ।

हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् । २०७२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि तातोेपानी नाका बन्द भएको थियो । २०७६ सालमा भूकम्पको चार वर्षपछि जेठमा खुलेपनि फागुनमै फेरि बन्द भएको थियो । चीनमा देखिएको कोभिड–१९ का कारण नाका बन्द गरिएको हो ।

पछि नेपालमा स्वास्थ्य सामग्री अत्यावश्यक भएपछि केही समय नाका खुलाएर सामग्री ल्याइए पनि पुनः बन्द गरिएको हो । तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसीमा बाढी आएर सडक क्षतिग्रस्त भएपछि असार २५ बाट नाका बन्द थियो ।

खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाका गोदाममा छन् । नाका खुलेसँगै ती सामग्रीसमेत क्रमैसँग ल्याइनेछ । भूकम्पअघि यो नाकाबाट हरेक दिन सवा करोडको हाराहारीमा राजस्व संकलन हुने गर्दथ्यो । पछिल्लो आर्थिक वर्षमा भन्सारले एक अर्ब ५९ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ ।


, , , ,