पहिरोबाट विस्थापित सुत्केरी र दिर्घ रोगीको दैनिकि कष्टकर

चौतारा, असोज २३ । 

सिन्धुपाल्चोकका विभिन्न स्थानमा गएको बाढी पहिरोबाट विस्थपित भएका सुत्केरी र दिर्घ रोगीहरुलाई दैनिकि चलाउन निकै  कष्ट झेल्नु परेको छ ।


 उहाँहरुमा समस्या उत्पन्न हुन शुरु भएको छ । बढ्दो चिसो र टेण्टको बास भएकाले अन्यको तुलनामा सुत्केरी र दिर्घरोगी समस्यामा परेका हुन् ।

यस बर्षमात्रै गएको पहिरोबाट विस्थापित भएर टेन्टमा बसिरहेका हरुलाई  बसोबासमा नै समस्या देखा परेको  छ । एउटै टेण्टमा सिंगो परिवार खुम्चिएर बस्नुपर्ने बाध्यता भएकाले बालबालिकासहित सुत्केरी र दिर्घरोगी मारमा परेका हुन् ।

बाह्रविशे नगरपालिका घुम्थाङ ७ की ३१ वर्षीया बुद्धिमाया तामाङ महिना दिनकी सुत्केरी हुनुहुन्छ भदौ महिनामा झरेको पहिरोले घर बगाएपछि टेन्टमा बस्दै आएकी उहाँ काखको बच्चासहित अर्की एक छोरीलाई चिसोबाट कसरी बचाउने भन्ने चिन्तामा आफू रहेको उहाँको भनाई रहेको छ । अस्थायी टहरामुनि रात बिताउन निकै सास्ती हुने गरेको उहाँ गुनासो सुनाउनुहुन्छ ।

पहिरोका कारण बुद्धिमाया तामाङ जस्तै घुम्थाङका १३ जना सुत्केरी र दश जना गर्भवती महिला चिसो टेण्टमा बसिरहेका छन् । 

यस्तै अपाङगता भएका हरुको पनि दैनिकि कष्टकर बनेको छ । घुम्थाङकै पहिरोबाट बिस्थापित ह्वीलचियरको सहारामा रहेकी सानु तामाङलाई चिसोका कारण ढाड दुख्ने समस्या देखिएको छ । मुसालधारे पानीपर्दा टेण्टको वरिपरि कुलोखनेर पानीको निकास दिनुपर्ने बाध्यता रहेको उहाँको गुनासो रहेको छ । 

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुन उहाँहरु जस्तै दीर्घरोगी, वृद्धवृद्धा, दमका रोगी र बालबालिकाको दैनिकी यहाँ निकै कष्टकर बनेको छ । सुत्केरी र दीर्घरोगी मात्र होइन, महिनावारी भएका बेला किशोरीले पनि विभिन्न समस्या भोग्दै आएका छन् । चिसो समयमा एकसरो कपडामा उहाँहरु रात बिताउन बाध्य छन् । यस्तो अवस्थामा चिसोका कारण विभिन्न रोगले सताउने चौतारा अस्पतालका डा. अशोक यादव बताउनुहुन्छ ।

पहिरो पीडित सुत्केरी आमा र दीर्घरोगीहरु अहिले चिसो टेन्ट मुनि रात काटिरहेका छन् । तातो खाना खाँदै न्यायोमा बस्नुपर्ने समयमा रातभर पानी चुहिने टेन्टमा रात काट्न उहाँहरुलाई बाध्यता छ । चिसोले सुत्केरी आमा, तिनका बच्चा र दीर्घरोगी मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । सिन्धुपाल्चोकको घुम्थाङमा पहिरोमा दुई सय ८५ परिवार विस्थापित भएका छन् भने लिदीमा पनि एक सय ७२ परिवार विस्थापित भएका छन् ।

घुम्थाङसहित लिदी पहिरोबाट विस्थपित भएर बाँसखर्कमा बस्दै आएका पीडितहरु बसेका स्थानमा न फलफूल पाइन्छ, न तरकारी न दही दहि दूध नै  पाइन्छ । 

राहतस्वरुप प्राप्त गरेको पैसा भएर पनि किनेर खाना सकिने अवस्था रहेको स्थानियको भनाइ रहेको छ । मनकारी व्यक्तिहरुले राहतस्वरुप खाएको दाल चामलको सहारामा उनीहरुले कष्टपूर्ण जीवन गुजार्दै आएका छन् । असार साउन र भदौ महिनामा झरेको पहिरोले सिन्धुपाल्चोकको घुम्थाङ, लिदी ,लार्चा,जम्बु खागदल, मेलम्ची लगायतका स्थानमा पहिरो जाँदा तीन हजार दुई सय ९७ परिवार विस्थापित भएका छन् । पीडितहरु अहिले टेण्टमुनि कष्टकर जीवन गुजारिरहेका छन् ।


, , ,